arrow

कोत घर पुनःनिर्माण गरिँदै

logo
रासस
प्रकाशित २०७८ चैत १४ सोमबार
kotghar.jpg

बागलुङ । ऐतिहासिक महत्वको सिगाना कोत घरको पुनःनिर्माण गर्न थालिएको छ । तत्कालीन बाइसे चौबिसे राज्यका पालामा भुरे टाकुरे राजाले राज्य गरेको सिगाना कोतघरलाई पुनःनिर्माण गर्न थालिएको हो । बागलुङ नगरपालिका-८ स्थित कोतघरलाई पुरानो शैलीमा पुनःनिर्माण गर्नका लागि गत वर्षनै गुरुयोजना बनाइएको थियो ।

नेपाल एकीकरण पूर्वराजा रजौटाहरुले स-साना राज्य सञ्चालनको क्रममा सिगानामा समेत राज्य सञ्चालन गरेको ऐतिहासिक तथा पुरातात्विक महत्वको कोत घर संरक्षणका लागि गुरुयोजना बनाएर अघि बढेको बागलुङ-८ सिगानाका वडाध्यक्ष जीतबहादुर जिसीले जानकारी दिए । 

कोत घर पुनःनिर्माणका क्रममा गत वर्ष केही पर्खालसमेत लगाइएको थियो । पर्खालको जग खन्ने क्रममा पुरातात्विक वस्तु ओखल, इँटा तथा माटाका भाडासमेत फेला परेका छन् । यस क्षेत्रमा पहिला राजाको दरबारलगायतका संरचना भएको जमिनमुनि भेट्टिएका पुरातात्विक वस्तुले समेत प्रमाणित गरेका छन् ।   

 बाइसे चौबिसे राज्यका पालामा यहाँ भुरे टाकुरे राजाले सिगाना, रेश, तित्याङ तथा रायडाँडामा आफ्नो राज्य सञ्चालन गर्ने गरेका थिए । अहिले दशैंको अघिल्लो दिन मेला लाग्ने परम्परा भए पनि ऐतिहासिक कोत संरक्षणको अभावमा मासिएको थियो । 

स्थानीयकै सक्रियतामा पुरानो कोत नजिकै छेउमा सानो मन्दिर बनाएर पूजाआजा गर्दै आए पनि पुरानो संरचना संरक्षणको अभावमा एक सय वर्षअघिनै विलय भएको छ तर परम्परागत शैलीमा कोतको पुनःनिर्माण गर्नका लागि प्रारम्भ गरिएको जिसीले बताए ।

“हाम्रो गुरुयोजना रु एक करोड २२ लाखको हो, अहिले बागलुङ नगरपालिकाले ११ लाख बजेट विनियोजन गरेको छ जस्लाई कार्यान्वयन गर्न स्थानीयले ११ लाख खर्चनुपर्ने हुन्छ”, उनले भने, “अहिले स्थानीयको सहयोग र नगरपालिकाको रकमले पुनःनिर्माणको कार्य अघि बढ्छ अहिले मुख्य कोत मन्दिरमा मात्रै निर्माण हुनेछ, बागलुङ नगरपालिकाले थप रु २० लाख अर्को शीर्षकबाट ठेक्का गर्न थालेको छ ।” 

जिसीका अनुसार अहिले मुख्य कोतमात्रै पुनःनिर्माण गरिने भए पनि बजेट थप हुँदै गएपछि पुन गुरुयोजनाअनुसार अन्य संरचना निर्माण गरिने छ । गुरुयोजना अनुसार संरचना निर्माण गर्दै जादा पुनःनिर्माणमा सहजता हुने उनको भनाइ छ । 

रु एक करोड २२ लाखको गुरुयोजनामा मुख्य मन्दिर, सत्तल, पर्खाल, पदमार्ग, शौचालय र बगैँचा निर्माण गरिने योजना रहेको छ । अहिले पहिलो चरणको स्थानीय साझेदारी योजनाअन्तर्गत सहयोग रकम उठाउन थालिएको छ । कोत पुनःनिर्माणमा स्थानीयको समेत साझेदारी हुने स्थानीय भद्रबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार झण्डै सात रोपनी जग्गामा फैलिएको कोतको जग्गा संरक्षणसँगै अन्य भौतिक संरचना निर्माणका लागि स्थानीयले समेत साझेदारी गर्नका लागि रकम सहयोग गर्ने भएका छन् ।

कोत पुनःनिर्माणमा बागलुङ नगरपालिकाले आवश्यक सहयोग गर्ने र थप बजेटका लागि प्रदेश र सङ्घ सरकारलाई पहल गर्ने बागलुङ नगर प्रमुख जनकराज पौडेलले जानकारी दिए । 

उनले नगरपालिकाले सिगानाको कोत मन्दिरलाई ऐतिहासिक तथा पुरातात्तिक महत्वको हिसाबले प्राथमिकतामा राखेर पुनःनिर्माण गर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ