- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
चितवन । नेपाल दलित महिला संघ (एड्वान) ले ‘सबै प्रकारका हिंसा तथा मदिरा न्यूनीकरण’ अभियान सुरु गरेको छ । एड्वानले सोमबारदेखि रत्ननगर नगरपालिकाका ९ देखि १६ सम्मका वडामा सो अभियान शुरु गरेको हो ।
एड्वानले महिला र दलित समुदायभित्र पनि सबैभन्दा बढी दलित महिलाले नै हिंसा भोग्नुपरेको अवस्था उल्लेख गर्दै उनीहरूले भोग्नुपरेको सबै प्रकारका हिंसाको अन्त्य गर्ने उद्देश्यले पनि सो अभियानको शुरुआत गरेको हो ।
रत्ननगर नगरपालिकाका उपप्रमुख विमलादेवी दुवाडीले अभियानको सुरु गर्दै संवैधानिक र कानुनीरूपमा प्राप्त अधिकारलाई व्यवहारिकरूपमै कार्यान्वयनको निम्ति समुदायबीच एकता हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । एड्वानले विशेषगरी ग्रामीणस्तरका महिला र किशोर-किशोरीको अधिकार, शिक्षा, वकालत तथा जीविकोपार्जनलगायत क्षेत्रमा काम गर्दै आएको छ ।
विसं २०५५ मा स्थापना भएको एड्वानले विपन्न समुदायका महिलालाई उद्यमशील बनाउनुका साथै अर्घाखाँची, गोरखा, चितवन, बाग्लुङ र तनहुँलगायतका जिल्लामा विपन्न समुदायका २०० विद्यार्थीलाई छात्रवृत्तिसमेत प्रदान गर्दै आएको छ ।
एड्वानका अध्यक्ष पम्फा परियार र महासचिव विन्दु परियारले राज्यको मूलधारबाट पछाडि परेका आर्थिकरूपमा विपन्न, दलित महिलालगायत अति सीमान्तकृत समुदायलाई शैक्षिक, आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिकरूपमा सशक्त बनाउने एड्वानको उद्देश्य रहेको बताए ।
एड्वान संस्थापक डा विष्णुमाया परियारले आर्थिक रूपमा कमजोर समाजमा अत्यधिक मदिरा सेवन हुने र त्यही घरमा सबैभन्दा बढी महिला हिंसा भएको बताउँदै सोही समुदायलाई लक्ष्य गरेर अभियान शुरु गरिएको जानकारी दिइन् ।