arrow

नेपालले बिमस्टेक क्षेत्रका जनताका निम्ति योगदान गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १५ मंगलबार
narayan-khadka-rajapakchye.jpg
तस्बिर –परराष्ट्रमन्त्री नारायण खड्का श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षसँग उनकै कार्यकक्षमा शिष्टाचार भेटका क्रममा

काठमाडौं । नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक) प्रक्रियालाई पुनरुत्थान गर्न सबै सदस्य राष्ट्रबाट नवीन प्रतिबद्धता अपरिहार्य भएकामा जोड दिएको छ ।

सङ्गठनको पाँचौँ शिखर सम्मेलनको पूर्वसन्ध्यामा कोलम्बोमा अपराह्न भएको सदस्य मुलुकका विदेशमन्त्रीको १८ औँ बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा नारायण खड्काले बिमस्टेकको पुनरुत्थानका लागि नवीकरणीय सङ्कल्प, सामूहिक प्रतिबद्धता र ठोस कार्यमा जोड दिएका हुन् । 
    
मन्त्री खड्काले जनताको जीवनस्तर उकास्न, समान अवसर सिर्जना गर्न र बङ्गालको खाडीको शान्ति र समृद्धिको आकाङ्क्षा पूरा गर्न साझेदारी एवं सहकार्य गर्नुपर्ने खाँचो औँल्याएको कोलम्बोस्थित नेपालको राजदूतावासले जनाएको छ । 

सङ्गठनलाई गतिशील तुल्याउन वर्तमान चुनौतीअनुरूप नवीन मार्गहरू पहिल्याउनुपर्ने उनले बताए । साथै उनले बिम्स्टेक क्षेत्रका जनताको विकास सुनिश्चित गर्न नेपालको रचनात्मक योगदान रहने प्रतिबद्धता  व्यक्त गरे । 

मंगलबारै परराष्ट्रमन्त्री खड्काले श्रीलङ्का प्रधानमन्त्री महिन्दा राजापाक्षसँग उनकै कार्यकक्षमा शिष्टाचार भेट गरे ।  प्रधानमन्त्री राजपाक्षले दुई देशबीचको सुमधुर र मैत्रीपूर्ण सम्बन्धको विद्यमान अवस्थाप्रति सन्तोष व्यक्त गर्दै आगामी दिनमा द्विपक्षीय सहयोग अझ सुदृढ हुने विश्वास व्यक्त गरे । 

परराष्ट्रमन्त्रीले बिमस्टेक प्रक्रियाप्रति श्रीलङ्काको प्रतिबद्धताको प्रशंसा गर्दै पारस्परिक हितका क्षेत्रमा सहयोग अभिवृद्धिका लागि श्रीलङ्कासँग निकट सम्पर्कमा रहेर काम गर्न नेपाल इच्छुक रहेको बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ