- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पोर्चुगल र पोल्याण्ड कतारमा आयोजना हुने विश्वकप फुटबलमा छानिन सफल भएका छन् । युरोपेली छनोटको प्लेअफ फाइनलमा विजयी हुँदै दुवै टिमले कतारको टिकट काट्न सफल भएका हुन् ।
गए राति भएको खेलमा पोर्चुगलले नर्थ म्यासेडोनियालाई २–० ले पराजित गर्यो । क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगललाई जिताउन दुवै गोल ब्रुनो फर्नान्डेजले गरे ।
३२ औं मिनेटमा ब्रुनोले रोनाल्डोको पासमा गोल गरे । ६५ औं मिनेटमा डिओगो जोटाको पासमा ब्रुनोले अर्को गोल थपे ।
योसँगै पोर्चुगल लगातार छैटौंपटक विश्वकपमा छनोट हुन सफल भएको हो ।
प्लेअफकै अर्को खेलमा पोल्याण्डले स्वीडेनलाई २–० ले हराउँदै विश्वकपमा स्थान पक्का गर्न सफल भएको हो । घरेलु टोलीको जितमा कप्तान रोबर्ट लेवान्डोस्की र पिओटर जिलेन्स्कीले समान १–१ गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा दोस्रो हाफको पाँचौं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गरे । ७२ औं मिनेटमा जिलेन्स्कीले गोल गर्दै पोल्याण्डडको जित पक्का गरे ।
युरोपेली प्लेअफ फाइनलको वेल्स र स्कटल्याण्ड–युक्रेनबीचको खेल भने सरेको छ ।