arrow

युक्रेनमाथिको आक्रमण ३६ औं दिनमा, किभ र चेर्निहिबमा हमला जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १७ बिहिबार
russia-ukraine-war-wall-steet-journal.jpg

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण थालेको आज ३६ दिन भइसकेको छ । रुसले अझै पनि आक्रमणलाई जारी राखेको छ । वार्ताको प्रयास पनि जारी रहेको छ । अहिलेसम्म सफल भने हुन सकेको छैन । 

शुक्रबार फेरि वार्ता हुने जनाइएको छ । यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा रहेका रुसी सेनाको खराब प्रदर्शनका बारेमा उनकाल सल्लाहकार सही सूचना नदिएको अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् । 

सूचना गलत दिएकै कारणले गर्दा पुटिन युक्रेनबाट पछि नहटेको दाबी अमेरिकी अधिकारीहरुको छ । यसैबीच पुटिन र रुसी सैन्य वरिष्ठ अधिकारीहरुबीच तनाव भएकोसमेत दाबी गरिएको छ । 

ह्वाइट हाउस अधिकारीका अनुसार रुसमाथि लागेको प्रतिबन्धले उसलाई आर्थिक रुपमा कति क्षति गर्छ भन्ने अनुमानसमेत नगरेको बताइन्छ । 

रुसी सेनाले युक्रेनमाथिको आक्रमण कम गर्दै लगेको प्रचार गरिएको भए पनि किभ र चेर्निहिबसमेत आसपासका क्षेत्रमा अझै पनि बमबारी जारी रहेको छ । 

यता, रुसी राष्ट्रपति पुटिनले युक्रेनी सेनाले आत्मसमर्पण गरेपछि मात्रै युक्रेनी शहर मारिओपोलमा गोलाबारी अन्त्य हुने बताएका छन् । 

मंगलबार राति फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग एक घण्टा लामो फोन वार्तामा उनले सो धारणा राखेको रुसी प्रशासन केन्द्र क्रेमलिनले एक विज्ञप्तिमा जनाएको छ ।

शहरबाट नागरिकहरूलाई हटाउने योजनाहरू विचार गर्न भने पुटिन सहमत भएको फ्रान्सेली अधिकारीहरुले बताएका छन् । त्यसपछि रुसले बिहीबार एक दिने युद्धविराम घोषणा गरेको छ । 

यसले मानिसहरूलाई रुस नियन्त्रित बर्दियान्स्क बन्दरगाह हुँदै जापोरिज्जियाको पश्चिमतर्फ यात्रा गर्न अनुमति दिनेछ ।

उता अमेरिकी राष्ट्रपति जो बाइडेन र युक्रेनी राष्ट्रपति भोल्दोमिर जेलेन्स्कीबीच छलफल भएको छ । एसोसिएट प्रेस एपीका अनुसार बाइडेनले युक्रेनलाई पाँच सय मिलियन डलर अतिरिक्त सहयोग गर्ने वचन दिएको छ । 

युनिसेफका अनुसार युक्रेनबाट करिब २० लाख बालबालिका पलायन भएका छन् । बेलायतले युक्रेनबाट भाग्दै गरेका २५ हजार पाँच सयलाई भिसा दिएकोसमेत जनाएको छ । 

यता स्लोभाकियाले युक्रेनमाथि हमलाको विरोध गरेको आरोपमा ३५ रुसी नेताहलाई देश निकाला गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ