arrow

रुसी मुद्रामा भुक्तानी गरे मात्रै तेल बेच्ने आदेशमा पुटिनको हस्ताक्षर, के गर्लान् युरोपेली मुलुक ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १८ शुक्रबार
putin2.jpg

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक नयाँ आदेशमा हस्ताक्षर गरेका छन् । जस अनुसार अब, रुसका विरोधी देशहरूले तेल किन्नका लागि रुसी मुद्रा रुबलमा भुक्तानी गर्नुपर्नेछ ।

'रूसी ग्यास किन्नको लागि, तिनीहरूले रूसी बैङ्कमा रुबल खाता खोल्न आवश्यक छ', पुटिनले बिहीबार टेलिभिजनमा बोल्दै भनेका थिए, 'अप्रिल १ देखि ती खाताहरूबाटै ग्यासको भुक्तानी हुनेछ, यदि त्यस्ता भुक्तानीहरू गरिएन भने, यसलाई ग्राहकले आफ्नो दायित्वको पालना गर्न असफल भएको मान्छौँ।'

अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, इटाली, जापान र क्यानडा विकसित अर्थतन्त्रहरूको समूह जी७ यो माग अस्वीकार गरेको छ ।

युक्रेनमाथिको आक्रमणमा रुसमाथि लगाइएको अभूतपूर्व पश्चिमी प्रतिबन्धको बदला स्वरूप पुटिनले यस्तो कदम चालेका हुन् ।

पुटिनले फेब्रुअरी २४ मा युक्रेनमा आफ्ना सेना पठाएपछि संयुक्त राज्य अमेरिका र उसका सहयोगी मुलुकहरूले रुसलाई विश्वव्यापी भुक्तानी प्रणालीबाट हटाउने, पुँजी बजारबाट यसको केन्द्रीय बैङ्क काट्ने र सयौँ अर्ब डलरको सञ्चित फ्रिज गरेपछि रुबलमा ऐतिहासिक गिरावट आएको थियो ।

पुटिनको यो निर्णयसँगै बिहीबार रुसी मुद्रा रुबलको कारोबार ८१.७ डलरमा भएको थियो । जुन फेब्रुअरी २३ बराबरको मूल्य हो ।

यो वर्ष अहिलेसम्म युरोपले दैनिक २० देखि ८० करोड युरो रुसी ग्यासमा खर्च गरेको छ। युरोपको यति ठूलो खरिदकै कारण रुसलाई प्रतिबन्धको प्रभाव कम परेको छ ।

अब, ग्याँस किन्दा रुबलमा रूपान्तरण गर्नुले रुसी कोषलाई झनै बढवा दिनेछ । अर्कातर्फ रुसले आफ्नो केन्द्री बैङ्कमाथि लागेको प्रतिबन्ध फुकाउने रणनीतिका लागि समेत यो निर्णय गरेको ठानिएको छ।

पुटिनले बिहीबार हस्ताक्षर गरेको डिक्रीमा राज्य नियन्त्रित ग्याजप्रोम बैङ्कलाई ग्यास खरिदका लागि विदेशी मुद्रा र रुबल खाता खोल्न अधिकार दिइएको छ। 

युरोपेली खरिदकर्ताहरूले विदेशी मुद्रामा भुक्तानी गर्नेछन् र त्यसपछि ग्याजप्रोम बैङ्कलाई उक्त विदेशी मुद्रा रूबलमा रूपान्तरण गर्न अधिकार दिनेछन् । त्यसपछि औपचारिक रूपमा ग्यास खरिद गर्न प्रयोग गरिनेछ।

युरोपको लगभग ४० प्रतिशत ग्यास रूसबाट आउँछ। यदि मस्कोले निर्यात बन्द गर्ने निर्णय गर्छ भने यसले आपूर्ति अभाव, कारखाना बन्द एवं युरोपभरि ऊर्जा सङ्कट निम्तिन सक्छ।

युद्ध सुरु हुनुअघि युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र र औद्योगिक पावर हाउस जर्मनीको ५५ प्रतिशत ग्यास आयात रूसबाट भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ