arrow

मादी-सेती नदीमा पक्की पुल निर्माण तीव्र

logo
रासस
प्रकाशित २०७८ चैत १८ शुक्रबार
SG_Myagdi_6773.JPG

तनहुँ । व्यास नगरपालिका-३ देउराली नगर र ऋषिङ गाउँपालिका-१ झापुटार जोड्ने मादी-सेती नदीमा पक्की पुल निर्माण गर्न थालिएको छ ।

विसं २०७७ कात्तिक महिनादेखि निर्माण थालिएकोे उक्त पुल कछुवाको गतिमा निर्माण भइरहेकामा प्रधानमन्त्री शेरबहादुर देउवाले अवलोकन गरेपछि कामलाई तीव्रता दिन थालिएको हो । गत चैत १० गते आठौँ तनहुँ महोत्सव उद्घाटन गर्न आएका प्रधानमन्त्री देउवाले तनहुँ जलविद्युत् आयोजना र निर्माणाधिन उक्त पुल अवलोकन गरेका थिए । 

शिलान्यास गरिएको एक वर्ष बित्दा पनि कामले गति लिन नसकेकामा प्रधानमन्त्रीको अवलोकन पछि निर्माण कार्यलाई तीव्रता दिइएको पुलःनिर्माण व्यवस्थापन समितिका अध्यक्ष बाबुराम बगालेले जानकारी दिए । गण्डकी प्रदेश सरकारको रु ३२ करोड ४० लाख सहयोगमा १५५ मिटर लमो र  १० मिटर चौडा उक्त पुलको  निर्माण अघि बढाइएको हो । 

पुलको एकातिरको बीस वटा फाइलको काम सम्पन्न गरेर सेन्टर प्वाइन्टको फाइलको काम सुरु गरिएको रसुवा एलिट जेभी कन्ट्रक्सनका प्रतिनिधि जीवन पौडेलले बताए । उक्त पुल निर्माण भएपछि झोलुङ्गे पुलबाट मोटरसाइकल गुडाउनुपर्ने बाध्यता अन्त्य हुनेछ । 

त्यसैगरी दमौलीबाट ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिका जान लामो दूरी परेकामा पुल निर्माणपछि जिल्लाको दक्षिण भेगसम्म छोटो दूरीमै यात्रा गर्न सकिनेछ । पुल निर्माण भएपछि नवलपरासीको कावासोती र कालीगण्डकी करिडोरसँग जोडिने हुँदा हजारौं मानिस लाभान्वित हुने विश्वास गरिएको छ ।

आर्थिक वर्ष २०८०/८१ सम्म उक्त पुलको निर्माण कार्य सम्पन्न गर्नेगरी सम्झौता भएको निर्माण कम्पनीका प्रतिनिधि पौडेलले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ