arrow

सयौं नागरिकको हत्या : युक्रेनी राष्ट्रपतिले भने- 'बुचा नरसंहारको पर्यायवाची रुस' हो 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २१ सोमबार
ukraine-bucha-civilian-killed-war-ukraine.jpg

काठमाडौं। युक्रेनको बुचा शहरमा रुसी सेनाले आक्रमणका क्रममा सयौं सर्वसाधारणलाई मारेको पाइएपछि विश्वव्यापी रूपमा रुसमाथि आक्रोश पोखिएको छ ।

रुसी सेनाबाट मुक्त गराएको राजधानी कीभ आसपासको यो क्षेत्रबाट युक्रेनी अधिकारीहरूले ४१० जना सर्वसाधारणको शव फेला पारेका छन् ।

सर्वसाधारणलाई लक्षित गर्दै सेनाले यस्तो क्रूर आक्रमण गरेपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस बुचा हत्याको पर्यायवाची भएको बताएका छन् ।

यस्तै रुसको वास्तविक छवि यातना र मृत्युदण्ड दिने भएको समेत युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भनेका छन् ।

उनले आइतबार एक भिडियो सम्बोधनका क्रममा रुसी 'युद्ध अपराध' को अन्त्यको लागि आह्वान गरेका छन् । उनले बुचामा यसरी सयौं सर्वसाधारण मारिनु नरसंहार भएको भन्दै रुसी नेताहरूलाई सेनाको कार्यका लागि जबाफदेही बनाउनसमेत आह्वान गरेका छन् ।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनको राजधानी कीभ नजिकै रहेको बुचा सहरमा मारिएका नागरिकको तस्बिरबाट आफू गम्भीर रूपमा स्तब्ध भएको भन्दै स्वतन्त्र छानबिनको माग गरेका छन् ।

यो अवस्थामा पनि रुसको रक्षा मन्त्रालयले भने रुसी सेनाले बुचामा सर्वसाधारणको हत्या गरेको अस्वीकार गरेको छ । रुसी रक्षा मन्त्रालयले सबै फोटो भिडियो नक्कली भएको दाबी गर्दै एउटै स्थानीय बासिन्दा कुनै पनि हिंसात्मक कार्यबाट पीडित नभएको टिप्पणी गरेको छ ।

अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केन लगायत पश्चिमी नेताहरूले युद्ध अपराध अनुसन्धान र रुसमाथि प्रतिबन्धहरू बढाउन आह्वान गरेका छन्। 

ईयू काउन्सिलका अध्यक्ष चार्ल्स मिशेलले रुसमाथि थप प्रतिबन्ध लगाउने वाचा गरेका छन् । यस्तै नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले तस्बिरहरूले 'युरोपमा दशकौँदेखि नदेखेको नागरिकहरू विरुद्धको क्रूरता' देखाएको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ