arrow

सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्न यूथ फोरम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २३ बुधबार
nyf.jpg

काठमाडौं । सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यूथ फोरमको तयारी अन्तिम चरणमा पुगेको छ । 

राष्ट्रिय सहकारी महासङ्घको आयोजनामा काठमाडौंको एभरेष्ट होटलमा चैत्र २५ र २६ गते हुने ‘को-अपरेटिभ एन्टरप्रेनरशिप नेशनल यूथ फोरम’ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । सहभागिताको लागि नाम दर्ताको काम समेत भइरहेको छ । उक्त फोरमको सह आयोजकमा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था र तुलसी बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् । 

फोरममा देशभरका दुई सय पचास सहकारीका सञ्चालक, युवा उद्यमीहरू र प्रतिनिधिहरूको सहभागिता रहने महासङ्घका सञ्चालक तथा युवा फोरमका संयोजक सागर ढकालले बताए । फोरममा युवा र उद्यमशीलता सम्बन्धी विभिन्न चार विषयमा छलफल र प्रस्तुति समेत हुने ढकालले जानकारी दिए ।

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाल उद्योग वाणिज्य महासङ्घका गोविन्द घिमिरे, अष्ट्रेलियाका पूर्व राजदूत महेश दाहाल, युवा तथा साना व्यवसायी स्वरोजगार कोषका उपाध्यक्ष देवराज रोका लगायतले नेपालमा युवा र उद्यमशीलता विषयमा कार्यपत्र प्रस्तुत गर्ने संयोजक ढकालले जानकारी दिए ।

सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्न सहयोग गर्नु गोष्ठीको प्रमुख उद्देश्य रहेको ढकालको भनाई छ । ‘युवाहरूलाई उद्यमशील बनाउने, मुलुकको आर्थिक विकास र समृद्धिमा सहभागिता र योगदान बढाउन फोरमले भूमिका खेल्ने अपेक्षा हामीले गरेका छौं’, संयोजक ढकालले भने , ‘फोरमले सहकारीको नीति निर्माणमा युवा सहभागिताको लागी दबाब सिर्जना गर्न र सहकारीमा नवीन सोच, प्रविधिको विस्तार साथै युवा मैत्री वातावरण निर्माणमा फोरमले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ