arrow

म्याग्दीको कुइनेखानीमा सडक पुग्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २४ बिहिबार
SA-Dhading-JokhimSadak1.jpg
फाइल तस्वीर

म्याग्दी । रघुगङ्गा गाउँपालिका-८ को दुर्गम कुईनेखानी गाउँमा सडक पुगेको छ । रघुगङ्गा-६ ठाडाखानीबाट धवलागिरि गाउँपालिकाको भेडीखाल्डा हुँदै कुइनेसम्मको १२ किलोमिटर लामो सडक निर्माण गरिएको हो । 

थिरबाङ तारेबिसौना मोटरबाटो निर्माण समितिका अनुसार रु ९१ लाख १२ हजारको लागतमा उक्त सडक निर्माण गरिएको हो । सडक निर्माण गर्न गण्डकी प्रदेश सरकारको समपूरक बजेटबाट रु ५० लाख र गाउँपालिकाको रु ३३ लाख ५० हजार लगानी भएको उपभोक्ता समितिका अध्यक्ष चबहादुर छन्त्यालले जानकारी दिए ।

सडक सञ्जालसँग जोडिएसँगै अब कुइनेबासीलाई सदरमुकाम बेनी पुग्न पाँच घण्टा मात्र लाग्नेछ । बेनीबाट कुइनेसम्मको सडकको दूरी ४२ किलोमिटर छ ।

स्थानीयवासीलाई आवत-जावतका साथै कृषि उपज बिक्री वितरण गर्न तथा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न सहज भएको छ । “सबैभन्दा बढी राहत बिरामीलाई पुगेको छ”, छन्त्यालले भने ।

सडक स्तरोन्नतिपछि सो सडकमा बाहै्रमास यातायातका साधन सञ्चालन गर्न सकिनेछ । उक्त सडकको हालै नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा र रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले संयुक्त रूपमा उद्घाटन गरे ।

कार्यक्रममा सडक विस्तार गर्न रु १२ लाख ६० हजार सहयोग गरेका गाउँपालिका अध्यक्ष भण्डारी, रु चार लाख ५० हजार सहयोग गरेका चित्रमान छन्त्याल र रु तीन लाख ५० हजार सहयोग गरेका थम बहादुर छन्त्याललाई स्थानीयवासीले सम्मान गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ