arrow

युक्रेन युद्धमा 'ठूलो सैन्य क्षति' भएको रुसले स्वीकार्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २५ शुक्रबार
Dmitry Peskov.jpg

काठमाडौं । रुसले युक्रेन आक्रमण गरेपछि जारी युद्धको ४४ औं दिनमा ठूलो सैन्य क्षति ब्यहोरेको कुरा स्वीकार गरेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले बेलायती च्यानल स्काई न्यूजसँग बोल्दै हताहत 'हाम्रो लागि ठूलो त्रासदी' भएको बताएका हुन् ।

यद्यपि, उनले मस्को आगामी दिनहरूमा आफ्नो युद्ध लक्ष्यमा पुग्ने आशा व्यक्त गरेका छन् । बुधवार संयुक्त राष्ट्र मानव अधिकार परिषद्बाट रुसलाई निष्कासन गरेपछि पेस्कोभको टिप्पणी आएको हो ।

संयुक्त राष्ट्र महासभाका १९३ सदस्यहरू मध्ये ९३ जनाले उत्तरी युक्रेनको बुचा शहरमा रूसी सेनाले सामूहिक मानवअधिकार हनन गरेको आरोप लगाउँदै कूटनीतिक आलोचनाको पक्षमा मतदान गरेका हुन् । यसको जवाफमा मस्कोले परिषद्बाट राजीनामाको घोषणा गरेको छ।

युक्रेनमा जारी मानवअधिकार र मानवीय संकटमा परिषद्ले गम्भिर चिन्ता व्यक्त गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राजधानी कीभ नजिकैको बोरोद्यान्का सहरमा रूसले थप अत्याचार गरेको बताएका छन् ।

तथापी रुसी प्रवक्ता पेस्कोभले बुचा सहरमा मृत्युदण्डका लागि रूसी सेनाहरू जिम्मेवार भएको कुरालाई अस्वीकार गर्दै सहरमा मान्छे मारिएका सर्वसाधारणको तस्बिर 'निराधार झुट' भएको दाबी गरेका छन् ।

तर, रुसले ठूलो क्षति बेहोरेको उनको स्वीकारोक्ति छ । २५ मार्चमा रुसको रक्षा मन्त्रालयले आफ्ना १ हजार ३ सय ५१ सैनिक युद्धमा मारिएको बताएको थियो। तर, युक्रेनले झण्डै १९,००० रुसीको मृत्यु भएको बताएको छ ।

रुस न युक्रेन कसैले पनि रुसी क्षतिको अनुमान स्वतन्त्र रूपमा प्रमाणित गर्न सकेका छैनन् । रुसले आफ्नो हताहतीको दरलाई कम गरिरहेको र युक्रेनले मनोबल बढाउन रुसी मृत्यु हुनेको संख्या बढाइरहेको हुन सक्ने बताइएको छ । 

पश्चिमा अधिकारीहरुले ७ हजार देखि १५ हजार रुसी सेनाको मृत्यु भएको हुनसक्ने अनुमान गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ