- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूलाई मन्त्रालयमा भेट गरी महासंघको तर्फबाट बधाई एवं शुभकामना दिएको छ ।
सो अवसरमा महासंघका तर्फबाट लामो समय पश्चात उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रले नेतृत्व पाएकोमा खुशी प्रकट गर्दै विद्यमान चुनौतीपूर्ण घडीमा उद्योग व्यवसायका समस्या समाधानका लागि आग्रह गरियो ।
भेटवार्तामा महासंघका अध्यक्ष गोल्छाले तरलता अभाव, चर्को ब्याजदर, विद्युत कटौती, इन्धनको चर्को मूल्यवृद्धिका कारण औद्योगिक व्यवसायिक लागत अत्यधिक बढेकाले निकास दिन नवनियुक्त मन्त्रीसमक्ष अनुरोध गरेका छन् ।
उद्योग मन्त्रीबाट यस क्षेत्रको समग्र समाधानमा चालिने प्रयासमा महासंघले पूर्ण सहयोग गर्ने विश्वास पनि दिलाए ।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र सघाई, कोषाध्यक्ष सुकुन्तलाल हिराचन, महानिर्देशक गोकर्णराज अवस्थीको सहभागिता रहेको सो अवसरमा मन्त्री बडूले निजी क्षेत्रसँग सहकार्य गर्न आफू सदैव तयार रहेको बताए ।
विद्यमान समस्याका विषयमा महासंघले राखेका चासोप्रति आफू पनि अत्यन्त गम्भीर रहेको र यस सम्बन्धमा आफूले छिट्टै बृहद छलफलको आयोजना गरी एउटा निकास दिन प्रयत्न गर्ने विश्वास मन्त्री बडूले दिलाए ।