arrow

गलेश्वरमा रामसीताको स्तम्भ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २८ सोमबार
Ram sita.jpg

म्याग्दी । बेनी नगरपालिका-९ स्थित गलेश्वर मन्दिर परिसरमा  भगवान राम र सीताको स्तम्भ प्रतिस्थापना गरिएको छ । दश जना दाताले आर्थिक संकलन गरेर गलेश्वर मन्दिर अगाडि स्थापना भएको ती स्तम्भमा नियमित नित्यपूजाका लागि थप रु तीन लाख १५ हजारको अक्षयकोष स्थापना गरेका छन् । 

करिब सात फिट अग्लो स्तम्भ भित्र एक करोड २७ लाख श्रीराम मन्त्र लेखिएको कागजलाई पानीले नभिज्ने गरी बाकसमा राखिएको छ । स्तम्भका शिरमा भएको राम र सीताको मूर्तिलाई पित्तलको छाताले ओढाइएको छ । 

पोखराका लेखनाथ घिमिरे, हिमलाल बराल, टेकनाथ पौडेल, रामप्रसाद बराल, बिष्णुमाया पौडेल, तिलोचन पौडेल, कुलप्रसाद पराजुली, मायादेवी बास्तोला, धरानका कुलचन्द्र भट्टराई र लमजुङका हरेराम दासले स्तम्भमा राख्ने मन्त्र उपलब्ध गराएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।  

स्तम्भको रामनवमी पर्वको अवसर पारेर आइतबार कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले शुभारम्भ गरे । “धर्मशास्त्रहरुमा राम र शिवले एक अर्काको सम्मान र सहकार्य गरेको हुनाले गलेश्वर शिवालयमा रामसीताको मुर्ति राखिएको हो,” उनले भने,  “मन्त्र सहितको रामसीताको स्तम्भले गलेश्वरमा धार्मिक शक्ति केन्द्रित गरेको छ ।” 

कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको गलेश्वर मन्दिरमा शिव, पार्वति, नटराज, जडभरत, गलेश्वरबाबा, नाग, राधाकृष्ण लगायत हिन्दू धर्मावलम्बीका भगवानका मन्दिर र मूर्तिका साथै १०८ शिवलिङ्ग छन् । 

गलेश्वरमा महाशिवरात्री, बालाचर्तुदर्शी र साउन महिनाको सोमबारका दिन बिशेष मेला लाग्ने गर्छ । गलेश्वरधामलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थ स्थल मुक्तिनाथको प्रवेशद्वारका रुपमा चिनिन्छ । 

द्वापरयुगमा सतिदेबी गला पतन भएकाले गलेश्वर नाम रहन गएको यस स्थानमा दर्शन र पूजाआजा गरेमा सुख, शान्ति, सम्बृद्धि र मनोकामना पुरा हुने विश्वास छ । पूर्वाधार निर्माण, व्यवस्थापकीय सुधार र प्रचारप्रसारका कारण गलेश्वरमा पछिल्लो समय भक्तजनको संख्या बढेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ