arrow

दिव्यमणीले दुई वर्षअघि नै सरकारलाई अर्थतन्त्र सन्तुलित बनाउन दिएका थिए चेतावनी, ओलीको लापरबाहीले भयो धरासायी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २८ सोमबार
divyamani-rajbhandari2.JPG
तस्बिर– फाइल

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिव्यमणी राजभण्डारीले आफूले दुई वर्षअघि नै अर्थतन्त्र धरासायी हुने भन्दै जोगिनका लागि अग्रिम पहल चाल्न तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारलाई चेतावनीसहित सुझाव दिएको बताएका छन् ।

कोरोना भाइरसको संक्रमण कोभिड–१९ को महामारीका कारण देशको अर्थतन्त्र उथलपुथल हुन सक्ने चेतावनी दिँदै उनले गाडी, मदिरा एवं विलासीजन्य सम्पूर्ण सामग्रीको आयात रोक्न दुई वर्षअघि नै सरकारलाई चेतावनी सहितको सुझाव दिएका थिए ।

दुई वर्षअघि सन् २०२० को अप्रिलमा एक अन्तर्वार्ताका क्रममा बोल्दै सांसद राजभण्डारीले उद्योग मन्त्रालयमा भएको छलफलमा आफूले आउँदो तीन वर्षको निम्ति व्यावसायिक वाहनहरु आयातमा प्रतिबन्ध लगाउन आग्रह गरेको बताएका थिए । 

कांग्रेस सांसद राजभण्डारीले दुई वर्षअघि दिएको सुझाव वर्तमान नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारले लागू गरे पनि तत्कालीन ओली सरकारको लापरबाहीका कारण निकै ढिला भइसकेको उनको बुझाइ छ ।

ओली सरकारलाई अर्थतन्त्र सन्तुलित बनाउन विज्ञहरुले दिएको सुझावविरुद्ध आफ्नो सरकार जोगाउने रणनीतिमा लागेपछि यो स्थिति सिर्जना भएको उनको विश्लेषण छ । उनले देशको अर्थतन्त्रले धान्न सक्ने भन्दा बढी विलासीका गाडी चढ्नेहरु भएका कारण गाडीको आयातमा प्रतिबन्ध लगाउन जरुरी रहेको बताएका थिए । 

देशमै भएका गाडीहरुलाई मर्मत गरेर प्रयोगमा ल्याउन आवश्यक भएको तर आयातमा भने पूर्ण प्रतिबन्ध लगाउन आवश्यक भएको उनले बताएका थिए ।यस्तै उनले महङ्गो रक्सी र कस्मेटिक्स आयातमा प्रतिबन्ध लगाउन अत्यावश्यक भएको बताएका थिए । यसबाहेक सांसद राजभण्डारीले निकै महँगा ग्याजेटहरुको आयातमासमेत प्रतिबन्ध लगाउन जरुरी रहेको बताएका थिए ।

आधारभूत प्राविधिक आवश्यकता बाहेकका प्रविधिजन्य सामग्रीको आयातमा पनि प्रतिबन्ध लगाउन जरुरी रहेको उनले बताएका थिए । महँगो लुगा, महँगो जुत्ताजस्ता विलासी सामानहरु आयातमा प्रतिबन्धन गरेर त्यो रकम विकासका क्षेत्रमा, उद्योगका क्षेत्रमा लगानी गर्न आवश्यक रहेको समेत उनले बताएका थिए । 

उनले साना तथा मझौला उद्योगमा लगानी बढाउनु आवश्यक रहेको बताउँदै विदेशबाट आउनेहरुले आफूसँग भएको कौशल अनुसार यहाँ स्वदेशमा उत्पादन गर्न, काम गर्न सक्ने क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताएका थिए ।

सांसद राजभण्डारीले आफूले दुई वर्षअघि नै अर्थतन्त्रमाथि आउन सक्ने संकटलाई विश्लेषण गर्दै यस्ता अनावश्यक आयातमा रोक लगाउन आग्रह गरेको भए पनि तत्कालीन सरकारले चरम लापरबाही गरेको आरोप लगाएका छन् ।

‘कोभिड लागिसकेपछि चाहिँ मैले बोलेको थिएँ । त्यही बेलाको एमाले सरकारले चाहिँ त्यसलाई टेरेन । केही दिनको लागि चाहिँ रोक्यो । फेरि खोल्दियो ।  त्यसलाई अहिलेको यो सरकारले निरन्तरता दियो । त्यसकारण यो अवस्था ल्याउनको लागि चाहिँ अघिल्लो सरकार नै जिम्मेवार छ’, हाम्राकुरासँग सांसद राजभण्डारीले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ