arrow

नेपाल व्यवस्थापन सङ्घमा नयाँ नेतृत्व

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ४ आइतबार
MAN-leadership.jpg

काठमाडौँ। नेपाल व्यवस्थापन सङ्घको नव निर्वाचित कार्य समितिले औपचारिक रूपमा कार्यभार सम्हालेको छ। सङ्घको नयाँ नेतृत्वमा निर्वाचित उपेन्द्र प्रसाद पौड्याल लगायत अन्य १६ जनालाई आज एक समारोहकाबीच निवर्तमान सभापति किरण कुमार श्रेष्ठले औपचारिक रूपमा पदभार हस्तान्तरण गरेका हुन्। 

पदभार हस्तान्तरण कार्यक्रममा सङ्घको २० औँ प्रबन्ध समितिको निर्वाचन मण्डका प्रमुख गुण राज भट्टले नव निर्वाचित पदाधिकारी र कार्यकारी सदस्यहरूलाई शपथ ग्रहण गराएका थिए। भट्टले नव निर्वाचित पदाधिकारी तथा कार्यकारी सदस्यहरूलाई निर्वाचित भएको प्रमाण पत्र समेत हस्तान्तरण गरेका थिए।

नेपाल व्यवस्थापन सङ्घमा प्रत्येक दुई वर्षमा नयाँ कार्य समिति चयन हुने प्रावधान रहेको छ। सोही बमोजिम हालका सभापति तथा राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको कार्यकाल समाप्त भएर नबिल बैङ्क लिमिटेका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले सङ्घको नयाँ नेतृत्व सम्हालेका हुन्। 

नव निर्वाचित अन्य पदाधिकारीहरूमा प्रथम उपसभापतिमा सुरेन्द्र कुमार गोयल, द्वितीय उपसभापतिमा आश्मी राणा, महासचिवमा मोहन राज ओझा र कोषाध्यक्षमा हेमा कुमारी अधिकारी निर्वाचित भएका छन्। यसै गरी सङ्घको कार्यकारी सदस्यहरूमा अनु जोशी श्रेष्ठ, आशा राणा अधिकारी, इन्द्र कुमार श्रेष्ठ, जितेन्द्र धिताल, कविराज अधिकारी, कृष्ण बहादुर अधिकारी, कृष्ण प्रसाद शर्मा, मनिष झा, मनोज कुमार ज्ञवाली, मिलन गुरुङ, प्रद्युम्न पोखरेल र सुमन शर्मा निर्वाचित भएका छन्।

सङ्घको प्रबन्ध समितिमा निवर्तमान सभापति पदेन सदस्य र नेपाल सरकारको सचिव वा सहसचिव स्तरको एक जना प्रतिनिधि मनोनीत सदस्य रहने परम्परा रहेको छ। सङ्घमा एक जना कार्यकारी निर्देशक रहने र निजले सदस्य सचिवको भूमिका निर्वाह गर्ने परम्परा रहेको छ।

नेपाल व्यवस्थापन सङ्घ ४१ वर्षको इतिहास बोकेको संस्था हो। यस संस्थामा मुलुकको नीतिगत तहमा योगदान पुर्‍याएका कुशल व्यवस्थापक, प्रशासक र अन्य विभिन्न क्षेत्रमा योगदान पुर्‍याउँदै आएका लब्ध प्रतिष्ठा व्यक्तिहरू सदस्यका रूपमा आबद्ध छन्।

नेपालका व्यवस्थापकहरूको छाता संस्थाका रूपमा चार दशकको यात्रा पार गरी सकेको सङ्घले नेपालको सरकारको बजेट तथा कार्यक्रम, पूर्व बजेट छलफल, मौद्रिक नीति लगायतका गतिविधिहरूमार्फत नेपाल सरकारलाई विज्ञ समूहको रूपमा योगदान पुर्‍याउँदै आएको छ। यसै गरी सङ्घले सिइओ सम्मेलन, राष्ट्रिय व्यवस्थापन सम्मेलन र व्यवस्थापन अवार्ड कार्यक्रमहरू सञ्चालन गर्दे आएको छ।

सङ्घले व्यवस्थापन विकासको क्षेत्रमा अनवरत रूपमा व्यवस्थापकीय सिप, नव प्रवर्तनका विविध गतिविधिहरू तथा वह आयामिक तालिमहरू सञ्चालन गर्दे आएको छ।



नयाँ