arrow

दरबारमार्ग महोत्सव भव्य रूपमा सम्पन्न, आन्तरिक पर्यटनलाई ऊर्जा दिन सफल भएको विश्वास

एफएनसीसीआई र एनसेललगायत निजी क्षेत्रको सहकार्य

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ४ आइतबार
ncell-dubar-marga-consort-2079.jpg

काठमाडौँ। नेपाली नयाँ वर्ष २०७९ को अवसरमा वैशाख ३ गते, शनिवार काठमाडौँको दरबारमार्गमा आयोजना गरिएको १५ औँ दरबारमार्ग महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। लामो समयदेखि यस्ता कार्यक्रमहरू आयोजना नभएको अवस्थामा दरबारमार्ग महोत्सवले नेपाल अब बिस्तारै उठ्दै छ भन्ने सन्देश दिन सफल भएको विश्वास आयोजकले गरेका छन्।

कोभिड महामारी र यसको प्रभावका कारण लामो समय घरमै बस्न बाध्य भएका आम सर्वसाधारणलाई महोत्सवले घर बाहिर आउन ठुलो ऊर्जा दिएको छ। महोत्सवमा कलाकारहरूले प्रस्तुति दिन थालेपछि माहौल निकै मनोरञ्जनात्मक भएको थियो। 

महोत्सवको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले एक विशेष कार्यक्रमका बीच औपचारिक शुभारम्भ गरेका थिए। देशका ९० प्रतिशत बढी जनसङ्ख्याले कोभिड विरुद्धको खोप लगाई सकेको र जनजीवन सामान्य हुँदै गएको अवस्थामा महोत्सवले आर्थिक क्रियाकलापलाई जागरूक बनाउन सहयोग गर्ने विश्वास लिएको अध्यक्ष गोल्छाले बताए। 

सहकार्य: ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’ मूल नाराका साथ आयोजना गरिएको यस महोत्सवको उद्देश्य आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्‍याउने र नेपाली उत्पादन, परिकार र संस्कृतिको प्रवर्द्धन गर्नु रहेको थियो। महासङ्घ, महासङ्घको सदस्य रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान) र दरबारमार्ग विकास बोर्डले एनसेल सँग महासङ्घको विशेष सहकार्यमा यो महोत्सव आयोजना गरेको हो।

महामारीले अर्थतन्त्रलाई शिथिल पारेको बेलामा यस सहकार्यले पर्यटन क्षेत्र, लघु उद्यमी, घरेलु, साना तथा मझौला व्यवसायी लाई नयाँ उत्साहका साथ अघि बढ्न प्रोत्साहन दिएको एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले बताए।

महासङ्घका निवर्तमान अध्यक्ष भवानी राणाले साना ठुला सबै उद्यम व्यवसायलाई यस्ता कार्यक्रमले ऊर्जा प्रदान गर्ने बताइन्। धन्यवाद मन्तव्यका क्रममा रेवानका अध्यक्ष अरनिको राजभण्डारीले आन्तरिक र बाह्य पर्यटन पुनरुत्थानमा सहयोग गर्न सकियोस् भनेर महोत्सव आयोजना गरिएको बताए।

गीतसङ्गीत, विभिन्न नेपाली खानाका परिकारका साथै विविध मनोरञ्जनात्मक प्रस्तुतिहरू र महोत्सव आयोजना हुने क्षेत्रमा अन्य रमाइला गतिविधिहरू सहित महोत्सव बेलुका ८:१५ बजेसम्म चलेको थियो भने महोत्सवको करिब १ लाख दर्शकले अवलोकन गरेका थिए। चर्चित गायक गायिका, कलाकार तथा साङ्गीतिक समूहहरूको प्रस्तुति, नेपाली खाना र उत्पादनहरूको विशेष प्रदर्शनीले महोत्सवलाई आकर्षक बनाएको थियो।

महोत्सवमा दीपक बज्राचार्य एण्ड रिदम ब्यान्ड, कबवेब, समृद्धि राई वीथ ब्यान्ड, सुवानी मोक्तान, शास्त्रीय साङ्गीतिक समूह सुर सुधा लगायत अन्य कलाकार तथा समूहहरू जस्तै एभरेस्ट क्रु, महेश काफ्ले, र भेकले आ–आफ्ना प्रस्तुतिहरू दिँदै आगन्तुकहरूलाई गीतसङ्गीतले मनोरञ्जन दिएका थिए। साथै मोटिभेसनल स्पिकर र ब्लाइन्ड रक्स संस्थाकी सृष्टि केसी र कमेडियन भरतमणि पौडेल एण्ड सुमन कोइरालाको प्रस्तुति थियो।

महोत्सवमा महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठ, कोषाध्यक्ष सुकुन्तलाल हिराचन, व्यापार मेला समितिका सभापति नरेन्द्र खड्का, रेवानका पदाधिकारीहरू, दरबारमार्ग विकास बोर्डका अध्यक्ष सञ्जीव तुलाधर सहित पदाधिकारीहरू र एनसेल, रोयल स्टयाग, गोर्खा ब्रुअरी लगायत कम्पनीका वरिष्ठ प्रतिनिधिहरूको उपस्थिति थियो।

सोही अवसरमा महोत्सवलाई सफल पार्न सहयोग गर्ने मुख्य प्रायोजक एनसेल, सह प्रायोजक गोरखा ब्रुअरी, रोयल स्ट्याग सहित अन्य सहयोगी संस्थाहरूलाई प्रशंसा पत्र समेत प्रदान गरिएको थियो। त्यसै गरी महोत्सवको बैङ्किङ पार्टनर एनआइसी एसिया बैङ्क, इन्सुरेन्स पार्टनर नेशनललाईफ इन्सुरेन्स, विभरेज पार्टनर डाबर नेपाल, अन्य सहयोगी पार्टनरहरू नेपाल पर्यटन बोर्ड, काठमाडौँ महानगरपालिका, मनकामना केवल कार, केएफसी, पिजा हट, फोन पे, एनडीज् आइसक्रिम, नेपाल डेरीलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो।

महोत्सवमा शारीरिक रूपमा भिन्न क्षमता भएका उद्यमीहरूले उत्पादन गरेका हस्तकलाका वस्तु तथा सामाग्रीहरू पनि प्रदर्शनीमा राखिएका थिए। त्यसै गरी महिला उद्यमी सहित हस्तकला उद्यमीहरूबाट उत्पादित वस्तुहरूका उत्पादन पनि प्रदर्शनीमा राखिएका थिए। महोत्सवमा ६० वटा स्टल राखिएका थिए।

विश्व भरी महामारीको रूपमा फैलिएको कोभिडबाट शिथिल भएको व्यापार व्यवसायमा अति प्रभावित क्षेत्रमा साना मझौला उद्यम तथा पर्यटन उद्योग छ। कोभिडले थलिएको उद्योग व्यवसाय, अर्थतन्त्र, पर्यटन व्यवसायलाई कसरी चाँडोभन्दा चाँडो पुनरुत्थान, नव उत्थानमा लैजान सकिन्छ भनी निरन्तर काम भइरहेको सन्दर्भमा महोत्सवले यो प्रयासमा निकै ठुलो सहयोग गर्ने विश्वास आयोजकहरूको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ