arrow

एकैसाथ सातवटा झोलुङ्गे पुल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ६ मंगलबार
jholunge-pool-baglung-longe.jpg

बागलुङ । निसीखोला गाउँपालिकामा अहिले धमाधम झोलुङ्गे पुल निर्माण भइरहेका छन् । गत वर्ष गाउँपालिकाको विभिन्न वडामा सात वटा झोलुङ्गे पुल निर्माण भएका थिए भने यस वर्ष पनि थप सात वटा नयाँ झोलुङ्गे पुल निर्माण हुँदैछन् । 

पुल निर्माणले स्थानीयमा खुसीसमेत छाएको छ। गाउँपालिकाले जीर्ण बनेका पुल विस्थापित गर्ने र आवश्यक स्थानमा धमाधम नयाँ झोलुङ्गे पुल निर्माण गर्ने अभियानलाई तीव्र बनाएको छ ।

गत वर्ष गाउँपालिका-६ को सेबाङघाट, सरिटारघाट, चुसाङघाट र वडा नम्बर ७ को कुतखोलाघाट, वडा नम्बर ३ र ४ जोड्ने ढुवाँखोरघाट पुल, वडा नम्बर १ को माराघाट, वडा नम्बर २ धौलेघाट झोलुङ्गे पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिए ।

उनका अनुसार यस वर्ष निसीखोला गाउँपालिका-४ र ५ जोड्ने कारीखोलामा, वडा नम्बर ६ को मगराखोलामा वडा नम्बर ५ यारीखोलामा, वडा नम्बर ३ र ४ जोड्ने गतेराखोलामा वडा नम्बर २ र ३ जोड्ने खग्रेनीघाटमा, वडा नम्बर एकको आठबारेघाटमा र वडा नम्बर ७ को खनिबासमा नयाँ पुल निर्माण भइरहेका छन् ।

पुल निर्माणपछि दैनिकी सहज बन्ने निसीखोला गाउँपालिका-५ का मानसिंह बुढाले बताए । उनले पुल जीर्ण भएपछि जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यता रहेको भन्दै अब यसको अन्त्य हुने उनको विश्वास छ ।

“अहिले यो खोला सानो छ, वारपार गर्न सकिन्छ तर वर्षातको समयमा खोला बढेर पानी माथि-माथि आएको हुन्छ, खोला तर्नै सकिँदैन,” बुढाले भने “यहाँ समस्या भएपछि हामीले गाउँपालिका अध्यक्षलाई अनुरोध गरेका थियौँ, यसपाली योजना परेर काम हुँदैछ, यो बर्खा त खोला वारपार गर्न सजिलो हुन्छ होला ।”

उहाँले पुल नबन्दा खोला वारपार गर्दा धेरै बालबालिका, महिला र ज्येष्ठ नागरिकले धेरै सास्ती र सकस पाउने गरेको बताए ।

निसीखोला-७ का प्रतापजंग थापाले खोला वारपार गर्ने झोलुङ्गे पुल जीर्ण बनेपछि जोखिम मोलेर यात्रा गर्नु परेको भन्दै अब यो समस्याको समाधान हुने उनको भनाइ छ । पुल निर्माणपछि गाउँका सबै नागरिकलाई वारपारमा सहजता थपिने थापाले बताए ।  सात वटा पुल निर्माणका लागि झण्डै दुई करोड बजेट लाग्ने सूचना अधिकारी गौतमको भनाइ छ । केन्द्रीय सरकारको ८७ प्रतिशत र गाउँपालिकाको १३ प्रतिशत बजेट साझेदारीमा पुल निर्माण हुन थालेको गौतमले बताए ।

गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले जनताको माग र आवश्यकताको आधारमा पुल निर्माण भइरहेको बताए । अध्यक्ष पौडेलले पालिकाभित्रका कुनै पनि नागरिकलाई खोला वारपारमा समस्या नहोस भन्ने हेतुले केन्द्रीय सरकारसँगको समन्वयमा पुल निर्माण गरि रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ