arrow

‘बागलुङ’ धार्मिक पर्यटकको रोजाई

logo
रासस
प्रकाशित २०७९ वैशाख ७ बुधबार
panchakot baglung gandakivoice.jpeg

गलकोट । यतिबेला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ जाने धार्मिक पर्यटकको लहरै चलेको छ । केही वर्ष अघि सरासर मुक्तिनाथ पुगेर फर्कने भारतीय तथा आन्तरिक पर्यटकले बसाइँ लम्ब्याउन थालेका छन् । उनीहरूले मुक्तिनाथ पछिको दोस्रो रोजाइ बागलुङमा पर्न थालेको बताएका छन् । 

अहिले बागलुङको कालिका मन्दिर, विश्वकै लामो झोलुङ्गे पुल, पञ्चकोट र शालग्राम सङ्ग्रहालयमा आउने धार्मिक पर्यटकमध्ये मुक्तिनाथ दर्शन गर्न आएको पाइएको छ । अहिले पञ्चकोट, कालिका मन्दिरलगायतका धार्मिक क्षेत्रमा मुक्तिनाथ दर्शन लेखेका सवारी साधन प्रशस्त देखिन्छन् । 

बागलुङको प्रवेशद्वारमै रहेको बागलुङ कालिका, विश्वको लामो झोलुङ्गे पुल, पञ्चकोट, शालग्राम सङ्ग्रहालय, ढोरपाटन, रिगताल लगायतको क्षेत्रमा पनि अहिले पर्यटकको चाप देखिन्छ । बागलुङमा चैते दसैँ र नयाँ वर्षपछि यहाँ पर्यटकको चाप निकै रहेको पाइएको छ । बागलुङमा अहिलेसम्मकै धेरै पर्यटक आएको पर्यटन व्यवसायीको दाबी छ । टिकटक तथा फेसबुकका कारण पञ्चकोट, शालग्राम, लामोपुल र कालिका मन्दिर आउने पर्यटकको चाप बढी भएको हो । बागलुङमा आएको व्यवसायी बताउँछन् । केही दिन अगाडि मात्रै चैते दसैँ सकियो । 

नयाँ वर्षपछि बागलुङमा अत्यधिक पर्यटकको आगमन भएको छ । बागलुङमा खास गरी मुस्ताङको मुक्तिनाथ, म्याग्दीको गलेश्वरमा पुग्ने तीर्थयात्रु पनि बागलुङ आउन थालेका छन् । पर्यटकको आगमनले कालिका मन्दिर, लामो झोलुङ्गे पुल र बाङ्गेचौर क्षेत्र पर्यटक र सवारी साधनले भरिएको पाइन्छ ।

विश्वको लामो दाबी गरिएको झोलुङ्गे पुल, पञ्चकोटलगायतका क्षेत्र फेसबुक, टिकटक लगायत विभिन्न सामाजिक सञ्जालमा प्रचारप्रसार हुँदा धेरै पर्यटक बागलुङ आएको समेत पाइन्छ । रुपन्देहीको तिलोत्तमादेखि घुम्न आएका विशाल सिलवालले टिकटकमा लामो पुल देखेपछि आफू प्रत्यक्ष पुल हेर्न आएको बताए। “यो लामो पुलको भिडियो टिकटकमा धेरै देखेको थिएँ, भिडियो हेरेपछि यहाँ आउने उत्सुकता जाग्यो, रातको समयमा झनै आकर्षण हुँदो रहेछ यो पुलको”, उनले भने, “यहाँ आएको बेला कालिका माताको पनि दर्शन गरियो, त्यहाँ माथि पञ्चकोट पनि छ रे, त्यहाँसम्म पुग्ने योजना पनि छ, त्यसपछि बञ्जीमा गएर फर्किनुपर्ला ।”

त्यस्तै सैनामैनादेखि आएका नितेश रिजालले बागलुङ कालिकामा पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास भएको हुँदा यहाँ पूजा गर्नका लागि आएको बताए। आफ्नो पाँच जनाको परिवारसहित बागलुङ आएका रिजालले कालिकासहित बागलुङ बजार वरपर रहेका अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रसमेत घुमेर जाने बताए। मुस्ताङको मुक्तिनाथमा पुग्ने पर्यटक बागलुङ आउन थाल्दा यहाँ बढी चहलपहल भएको पाइएको छ । केही समय अगाडिसम्म मालढुङ्गा हुँदै मुक्तिनाथ पुग्ने पर्यटक बागलुङमा एकदमै कम मात्रामा आउने गरेको थियो । तर अहिले बढी नै आउन थालेका छन् । भारतबाट मुस्ताङ घुम्न आएका आदिम हुसेनले बागलुङको बारेमा धेरै सुनेको र मुस्ताङबाट फर्किँदा यहाँ पसेको बताए ।

उनले यहाँको कालिका मन्दिर भारतमा पनि चर्चित रहेको भन्दै यसको दर्शन गर्ने आफ्नो लामो समयको इच्छा पूरा भएको बताए। हुसेनले बागलुङ कालिकामा आएको समयमा लामो पुल पनि तर्ने अवसर पाएको बताए। बागलुङ र पर्वत जिल्लाको बीचमा रहेको कालीगण्डकी नदीमाथि रहेको बञ्जी पुलमा समेत पर्यटक आउन थालेपछि यहाँका होटलमा चहलपहल बढ्न थालेको होटल तथा रेस्टुराँ व्यवसायी सङ्घले जनाएको छ । सङ्घका अनुसार थलिएको पर्यटन व्यवसाय बिस्तारै उठ्न थालेको छ भने होटलमा पाहुना समेत आउन थालेका छन्, त्यसैले यहाँका होटल व्यवसायीमा आशा पलाएको छ । पछिल्लो समय  नयाँ पर्यटकीय गन्तव्य पहिचान र प्रवर्द्धन भएपछि निकै राम्रो भएको छ । 

पछिल्लो समय बेलढुङ्गा, हाँडीकोट, मूर्तिकला, चमेरे गुफा, गाईघाट झरना र सहस्रधारा झरनामा पुनः चहलपहल सुरु भइरहेको छ । विश्वकै लामो पुल ‘गण्डकी गोल्डेन वृज’मा अहिले आन्तरिक पर्यटकको भीड नै लाग्ने गरेको छ भने कालिका मन्दिरमा मङ्गलवार र शनिवार भक्तजनको चाप बढ्दै गएको छ । चैते दसैँ सम्पन्न भएको भएको र मुस्ताङको मुक्तिनाथ जाने भारतीय पर्यटकसमेत मुक्तिनाथपछिको दोस्रो गन्तव्य बागलुङलाई मानेर यहाँ आउने गरेकाले रौनक बढेको बताइएको छ । चैत दोस्रो सातादेखि बागलुङका अधिकांश ठूला होटल भरिभराउ भएको होटल व्यवसायी सङ्घले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ