arrow

हरिदेवी कोइराला सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ९ शुक्रबार
Haridevi Koirala.jpg

पोखरा । छन्द दिवसको अवसरमा वरिष्ठ लोकगायिका हरिदेवी कोइराला सम्मानित भएकी छन् । माधव वियोगी वाङ्मय प्रतिष्ठान नेपालले माधव वियोगी सम्मानद्धारा उनलाई सम्मान गरेको हो । 

गण्डकी प्रज्ञा प्रतिष्ठाको सहकार्यमा कोइरालालाई महाकाव्यकार जनार्दनशरण त्रिपाठी र प्रतिष्ठानकी प्रमुख संरक्षक सरिता घिमिरेले सम्मान गरेका थिए । 

कार्यक्रममा प्रमुख अतिथि त्रिपाठीले छन्द दिवसको औचित्य पुष्टि भएको बताए । साथै उनले असल स्रष्टालाई सम्मान गर्न पाएकोमा खुशी समेत व्यक्त गरे ।

प्राज्ञ एवं सम्मानित व्यक्तित्व कोइरालाले आफू लोकगीत र संस्कृति संरक्षणका लागि प्रतिबद्ध रहेको बताइन् । 

छन्द नायक माधव वियोगीले आफूले २०५३ सालदेखि एकादेशको कथा हुन नदिन, काव्य संस्कृतिको रक्षा गर्न, युवा र बाल पुस्तालाई छन्दप्रति आकृष्ट पार्न तथा छन्दलाई जीवनशैलीका रूपमा विकास गन, राष्ट्रव्यापी आन्दोलनका रूपमा छन्द बचाऊँ अभियान संचालन गरेको बताए । 

उनले छन्द दिवस सबैको साझा दिवस भएको स्पष्ट पारे । सोही  अभियान शुरू भएको दिन वैशाख ८ गतेलाई नेपाल सरकार पन्चाङ्ग निर्णायक समितिले छन्द दिवसका रूपमा मान्यता दिएपछि देशविदेशमा छन्द दिवस मनाउन थालिएको उनले जानकारी दिए । 

गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले छन्द दिवससलाई वार्षिक कार्यक्रममा समावेश गरेको जनाउँदै प्रतिष्ठान वाङ्मयको विकासमा प्रतिवद्ध रहेको बताए । 

सो अवसरमा छनोट गरिएका  डा. नारायण अधिकारी, डा. जगन्नाथ रेग्मी, छविलाल आचार्य, अम्बिकाप्रसाद भट्टराई, कल्पना भट्टराई, रूद्रबहादुर थापा, वसन्त चालिसे, चन्द्रावती वाग्ले, कमल कोइराला, शिव त्रिपाठी, ज्वलन्त प्रेमी, युवराज घिमिरे, तारानाथ पराजुली, निर्मला अर्याल, रमा खतिवडालगायतले कविता वाचन गरेका थिए ।

सो अवसरका डा. तुलसी प्रवासले छन्द र छन्द दिवसको सान्दर्भिकता विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । 

प्रतिष्ठानका अध्यक्ष रामनाथ अधिकारी सँगीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत गण्डकी प्रज्ञा प्रतिष्ठानका कार्यवाहक कुलपति गोरे गुरुङले र सञ्चालन छन्दमणि र छन्दिकाले संयुक्त रूपमा गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ