काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र नेपाल मजदुर किसान पार्टीका सांसदको अवरोधका कारण स्थगन भएको छ । बैठकको प्रारम्भसँगै नेपाली काँग्रेस र मधेस केन्द्रित दलहरुले आआफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख ओनसरी घर्ती मगरले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता फर्मुल्लाह मन्सुरलाई बोल्न समय प्रदान गरेको घोषणा गर्नासाथ मोर्चासँग आबद्ध दलका सांसद रोस्ट्रम नजिक आएर तथा नेमकिपाका सांसदले आफू रहेको स्थानबाट लगातार नाराबाजी गर्नुभयो ।
मोर्चासँग आबद्ध दलका सांसदले तराई–मधेसमा भएको आन्दोलनमा हुँदै आएको ‘सरकारी हस्तक्षेप’ बन्द गर्न माग गर्दै नाराबाजी गर्नुभएको थियो भने नेमकिपाका तर्फबाट नाकाबन्दीलगायत भारतीय पक्षबाट हुँदै आएको हस्तक्षेप बन्द गर्न माग गर्नुभयो । मोर्चासहितका सांसदबाट लगातार नाराबाजी भइरहँदा सभामुखले आआफ्नो स्थान ग्रहण गरेर बैठक सञ्चालनमा सहयोग पुर्याउन पटक पटक आग्रह गरिरहनुभएको थियो ।
सभामुखको आग्रहलाई बेवास्ता गर्दे नाराबाजी चलिरहेपछि सभामुखले भन्नुभयो, “तपाईहरुले भनेका विषयलाई संयोजन गर्न पनि बैठक सञ्चालन गर्नुपर्ने भएकाले नाराबाजी छाडेर स्थान ग्रहण गर्न आवश्यक रहेको छ, तपाईँहरुलाई सिटमा गएर आसन ग्रहण गर्न म आग्रह गर्दछु ।” निर्धारित समयभन्दा एक घन्टा ढिलो सुरु भएको उक्त बैठकमा लगातार आधा घन्टाको नाराबाजी भएको थियो । बैठकमा केही सांसदले नाराबाजी गरिरहँदा अरु सांसद भने एकापसमा कुराकानी गरेर समय कटाइरहनुभएको थियो । सांसदले रोस्ट्रम घेरेर लगातार नाराबाजी गरिरहेका अवस्थामा बैठक चल्न नसक्ने भएको जनाउँदै यो अवस्थालाई अवरोधको अवस्था मानिने भएकाले बैठक स्थगन गरिएको सभामुखले जनाउनुभयो ।
संसद्को आजको बैठकका लागि सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने मात्र कार्यसूची थियो । व्यवस्थापिका–संसद्को अर्का बैठक यही मङ्सिर २० गते अपराह्न १ बजे बस्नेछ ।