arrow

अमेरिकाले युक्रेनका लागि सैन्य सहायता बढायो, केही दिनमै राजदूत पठाउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
olodymyrZelenskiy-AntonyBlinken-LloydAustin.jpg

काठमाडौं । रुसले आक्रमण गरेपछि जारी युक्रेन युद्ध केही शान्त भएका बेला पहिलो पटक उच्चस्तरीय अमेरिकी अधिकारीहरूले युक्रेनको भ्रमण गरेका छन् । भ्रमणका क्रममा उनीहरूले युक्रेनलाई थप सैन्य सहयोगको प्रतिविद्धतासमेत गरेका छन् ।

पोल्याण्डबाट रेल हुँदै आइतबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेन र रक्षामन्त्री लोयड अस्टिनले युक्रेनको भ्रमण गरेका हुन् । युक्रेनको राजधानी कीभमा विदेशमन्त्री ब्लिनकेन र रक्षामन्त्री अस्टिनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका थिए।

यो अमेरिकी भ्रमणले रुसविरुद्ध पश्चिमाको बलियो ऐक्यबद्धताको सङ्केत समेत गरेको छ ।

भेटका क्रममा उनीहरूले रुसको आक्रामकताविरुद्ध लड्न युक्रेन र अन्य रुसको खतरा भएका मुलुकहरूलाई ७१ करोड ३० लाख अमेरिकी डलर बराबरको सैन्य सहयोगको प्रतिबद्धता गरेका हुन् ।

अमेरिकी प्रतिनिधिमण्डल र युक्रेनका नेताहरूबीचको बैठक तीन घण्टा अर्थात् तोकिएको समयभन्दा दोब्बर समयसम्म चलेको थियो ।

'राष्ट्रपति पुटिनको क्रूर आक्रामक युद्धको सामना गर्ने युक्रेनका अर्थोडक्स ईसाईहरूको लचिलोपनबाट हामी प्रेरित छौं,' अर्थोडक्स इस्टर उत्सवका क्रममा ब्लिन्केनले ट्विटरमा कीभ पुग्नु अघि भनेका थिए ।

ब्लिन्केन र अस्टिनको भ्रमण अघि, युक्रेनी अधिकारीहरूले संयुक्त राज्य अमेरिकाबाट तत्काल आवश्यक पर्ने क्षेप्यास्त्र विरोधी प्रणाली, विमान विरोधी प्रणाली, बख्तरबन्द सवारी साधन र ट्याङ्कहरूलगायतका हतियारको सूची बनाएका थिए ।

संयुक्त राज्य अमेरिका र नेटो सहयोगीहरूले युक्रेनलाई भारी उपकरण र थप अत्याधुनिक हतियार प्रणालीहरू आपूर्ति गर्न बढ्दो तत्परता देखाएका छन्। 

बेलायतले युक्रेनलाई सैन्य गाडीहरू पठाउने वाचा गरेको छ । यस्तै बेलायतले पोल्याण्डलाई आफ्नो ट्याङ्क पठाएर पोल्यान्डमा रहेको ती ७२ एस ट्याङ्क युक्रेनलाई पठाउने तयारीसमेत गरिरहेको छ ।

उच्च स्तरीय अमेरिकी भ्रमणले द्वन्द्व वस्तुस्थिति फरक भएको कुरा झल्काएको छ । पश्चिमबाट प्राप्त ठूलो हतियारको साथमा युक्रेनी सेनाले किभमा रुसी सेनाविरुद्ध बलियो प्रतिरोध गरेको थियो ।

फेब्रुअरी २४ मा आक्रमण सुरु गरेदेखि रूसले कुनै पनि प्रमुख शहर कब्जा गर्न सकेको छैन । कीभ कब्जा गर्न असफल भएपछि आफ्नो सेनालाई रुसले दक्षिण र पूर्वमा केन्द्रित गरेको छ ।

अहिले रुसले डोनबास क्षेत्रमा सानो सफलता मात्रै हात पारेको बेलायतले जनाएको छ । रुसको युद्धस्थिती कमजोर बनेसँगै अमेरिकाले केही दिनमा आफ्नो राजदूत युक्रेन पठाउने बताएको छ । नयाँ राजदूत तोकेर युक्रेन पठाउने तयारी अमेरिकाले गरेको हो । अन्य केही देशले पनि त्यहाँ आफ्नो दूतावास फेरि सञ्चालनमा ल्याएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ