arrow

नेटोविरुद्ध युद्धकाे तयारी गर्दै पुटिन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १९ सोमबार
putin-war-aganist-nato-russia.PNG

काठमाडौं । गत बुधबारको सम्बोधनका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा  'रुसका लागि रणनीतिक खतरा सिर्जना गर्ने कुनै पनि देशले बिजुली भन्दा तीव्र  प्रतिशोधात्मक हमलाको सामना गर्नुपर्ने' चेतावनी दिएका थिए ।

त्यसअघि रुसी विदेशमन्त्री सर्गेई लाभरोभले एक अन्तर्वार्ताका क्रममा 'नेटो प्रोक्सीमार्फत रुससँग युद्धमा गइरहेको र त्यो प्रोक्सीलाई हतियार उपलब्ध गराइरहेको' बताएका थिए ।

न्यूजवीकसँग कुरा गर्दै केही विज्ञहरूले रूसी अधिकारीहरूले नेटो सहयोगीहरूमा डर जगाउने उद्देश्यले धम्कीपूर्ण बयानबाजी बढाएको बताएका छन् । यसबाहेक कतिपय विज्ञहरूले रुसी जनताको मन जित्ने प्रयास स्वरुप यस्ता धम्की दिइरहेको बताएका छन् ।

'रुसी घरेलु प्रचारले रुस युक्रेनसँग होइन, नेटो र पश्चिमसँग युद्ध गरिरहेको कुरामा जोड दिएको छ,' मिशिगन विश्वविद्यालयका सहायक प्राध्यापक युरी झुकोभले भनेकी छिन्, 'प्रत्येक युक्रेनी सैन्य सफलताको पछाडि, नेटोको हात छ, नेटोका अधिकारीहरुले कहाँ, कहिले र कसलाई गोली हान्ने भनेर बताउँछन् ।'

उनले भनेकी छिन्, 'यसले रुसी नागरिकसँग सैन्य क्षतिको बिषयको जानकारी गराउन सजिलो पार्छ। यसबाहेक यसले रूसमा सम्भावित पूर्ण युद्धकालीन परिचालनको लागि राजनीतिक आधार तयार गर्नसमेत मद्दत गर्दछ । जुन पुटिनले अहिलेसम्म घोषणा गर्न हिचकिचाइरहेका छन्।  यसका साथै यसले नेटोको आपूर्ति लाइनदेखि यसका मुख्य केन्द्रमा प्रहार गर्न राजनीतिक दबाबसमेत सिर्जना गर्छ ।

'मलाई लाग्छ कि मस्कोको परिप्रेक्ष्यमा, तिनीहरूले यो सबै कुरा नेटो र संयुक्त राज्यले सुरु गरेको हो भन्ने मुद्दा बनाउन चाहन्छन्,' डेमोक्रेसी इनिसिएटिभ्सका निर्देशक र संयुक्त राज्य अमेरिकाको जर्मन मार्शल कोषका वरिष्ठ फेलो जोनाथन काट्जले भनेका छन् ।

संयुक्त राज्य अमेरिका र नेटोको बूगीम्यान प्रयोग गरी पुटिनले रुसी घरेलु जनसंख्यालाई आफूले गरिरहेको कार्य जायज ठहराउन खोजेको उनको भनाइ छ ।

पुटिनले गत बुधवार भाषणका क्रममा जवाफी हमलाका लागि रुससँग अरु कसैले दाबी गर्न नसक्ने हतियार भएको टिप्पणी गरेको बिषय भनेको हालै परीक्षण गरेको अन्तरमहादेशीय मिसाइल हुनसक्ने कुरा फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ ।

यस्तै विदेशमन्त्री लाभरोभले सोमबार राज्य मिडियासँगको कुराकानीमा आणविक युद्धको खतरालाई संकेत गरिसकेको रोयटर्सले उल्लेख गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गत बिहीबार रूसी अधिकारीहरूबाट आउने यस्ता धम्कीहरू 'रूसले आफ्नो पूर्ण असफलताको बारेमा महसुस गरिरहेको निराशाको संकेत' भएको बताएका थिए ।

यद्यपि, रक्षा मन्त्रालयका प्रेस सचिव जोन किर्बीले शुक्रबार यी धम्कीहरूलाई गम्भीर रूपमा लिइएको बताउँदै पुटिनले आक्रोशित टिप्पणीहरू गर्नबाट टाढा रहनुपर्ने बताएका थिए ।

किर्बीले प्रेस ब्रीफिंगमा बोल्दै  आणविक शक्तिको लागि यसरी हल्ला गर्नु र आणविक हतियारहरूको सम्भावित प्रयोगको बारेमा टिप्पणी गर्नु गैरजिम्मेवारीपूर्ण भएको बताएका छन् । उनले अघि भनेका छन्, 'हामी रुसलाई आणविक हतियारको सन्दर्भमा बयानबाजी बढाउन रोक्न आग्रह गर्दछौं।'

पश्चिमी देशहरूले पुटिनको धम्कीलाई खारेज गरेमा रूसी नेताले थप निर्णायक कदम चाल्न दबाब महसुस गर्नसक्ने झुकोभको भनाइ छ ।

'रूसको बदला लिने धम्कीहरू खोक्रा छन् भन्ने युरोप र अमेरिकामा सामान्य धारणा छ,' उनले भनिन्, 'मलाई लाग्छ कि बदलाको धम्कीलाई अझ विश्वसनीय बनाउन रूसले अन्ततः नेटो देशहरूविरुद्ध केही गतिशिल कारबाही गर्न बाध्य महसुस गर्नेछ ।'

गत बिहीबार संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनी राष्ट्रपति भोलोडदमिर जेलेन्स्कीसँगको बैठक समाप्त गरेको केही समयपछि रूसी क्षेप्यास्त्रहरूले कीभमा प्रहार गरेको थियो। 

यसले युद्धका क्रममा युक्रेनका साझेदारहरुलाई संलग्न हुन र त्यहाँ आउनबाट रोक्न रुस मिसाइल प्रहार गर्नसमेत तयार रहेको भन्ने सन्देशकारुपमा रहेको काट्जको भनाइ छ ।

पश्चिमले रुसी धम्कीलाई सामान्यरुमा लिँदै गएका बेला रुसले नेटोलाई बाहना बनाएर यसका कुनै सदस्य राष्ट्रविरुद्ध अथवा नेटोविरुद्ध नै पनि कुनै किसिमको कदम चाल्न सक्ने सम्भावना बढ्दो देखिइरहेको विश्लेषकहरुको चिन्ता छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ