- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा स्वर्णिम वाग्लेले नेपालमा आर्थिक सङ्कट नआएको तर नीतिगत र आर्थिक कमजोरीले खतरा भने निम्त्याएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले ‘नेपाली अर्थतन्त्रको भावी दिशा’ विषयमा आज आयोजना गरेको अन्तर्क्रियामा उनले यस्तो बताएका हुन् ।
“नेपालमा आर्थिक सङ्कट आएको छैन, श्रीलङ्कासँग तुलनै गर्न मिल्दैन तर, नीतिगत र आर्थिक कमजोरी कारण नेपालमा पनि आर्थिक सङ्कटको खतरा कायमै छ, त्यसैले वित्तीय अनुशासन कायम राख्न प्रशासनिक सुधार र नीतिगत सुधार जरुरी छ”, डा वाग्लेले भने ।
उनले नेपालमा श्रीलङ्काको जस्तो आर्थिक सङ्कटको स्थिति उत्पन्न नभएको तर अर्थतन्त्रका सबै सूचकलाई ठिक ढङ्गले परिचालन गर्न वित्तीय अनुशासन कायम गर्नुपर्ने बताए ।
अर्थशास्त्री डा वाग्लेले मुलुकमा मौलाउँदै गएको कुशासन र हचुवामा गरिने निर्णयले दुर्घटना निम्त्याउन सक्ने खतरा पनि औँल्याए । नेपालको सार्वजनिक ऋण तथा शोधनान्तर स्थिति नभई शासकीय चरित्र भने श्रीलङ्काको जस्तै रहेको तर अर्थतन्त्रको प्रवृत्ति भने फरक-फरक रहेको उल्लेख गरे । उनले तिर्न नसक्ने ऋण र पुर्न नसक्ने घाटा श्रीलङ्काको आर्थिक सङ्कटको मुख्य कारण रहेको भन्दै नेपालले पनि बेलैमा सजगता अपनाउनुपर्ने बताए ।
डा वाग्लेले श्रीलङ्काले सशस्त्र द्वन्द्व सकिएपछि पूर्वाधारमा अन्धाधुन्ध ऋण लिएको सन्दर्भ निकाल्दै बिना अध्ययन विदेशी ऋण लिएर लगानी गरेका कारण आर्थिक सङ्कटको सामना गर्नुपरेको उल्लेख गरे ।