arrow

सुख्खा पहिरोमा पुरिएर दुई बालकको मृत्यु, एक महिला घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २१ बुधबार
Tila_Gaunpalika.png

खलङ्गा । जुम्लाको तिला गाउँपालिका–२ मा घरको जग लगाउँदै गर्दा आएको सुक्खा पहिरोले दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार तिला– २ लिहीका स्थानीयवासी रणबहादुर बोहोराको घरको जग लगाउँदै गर्दा खेलिरहेका दुई बालकको सुक्खा पहिरोले च्यापिएर मृत्यु भएको जानकारी दिए ।

लगाउँदै गरेको घरको माथिबाट सुक्खा माटो आएपछि तीन वर्षीय बालक शिशिर बोहोरा र हिमिश रावलको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए । पहिरोसँगै च्यापिएर काम गर्न गएकी रणबहादुर बोहोराकी पत्नी लक्ष्मी बोहोरा घाइते भएकी छिन् । 

घाइते बोहोरालाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  ल्याइएको प्रहरीले जनाएको छ । मृतक शिशिर रणबहादुरका छोरा हुन् । घाइते लक्ष्मी बोहोरासँगै ती बालक सो स्थानमा गएका र खेलिरहेका थिए । 

अर्का बालक हिमिश भने नजिकै नातेदारको छोरा रहेका र घर बनाउने स्थानमा खेल्न गएका थिए । गत वैशाख ९ गते राति सो गाउँपालिका–३ सार्कीबाडामा मानसिंह सार्कीको घर आगलागी हुँदा चार बालबालिकाको जलेर मृत्यु भएको थियो । सो घटना नसेलाउँदै बुधबार डण्डेलीमा माटोबाट दुई बालकको मृत्यु भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ