arrow

समृद्ध महानगर निर्माण गर्ने सिर्जना सिंहको अठोट 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २४ शनिबार
srijana-singh-kathmandu-mayor-candidate.jpg

काठमाडौं । गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखको उम्मेदवार सिर्जना सिंहले संविधानको रक्षा गर्दै समृद्ध महानगर निर्माण गर्ने बताएकी छिन् । नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–२६ ले शनिबार यहाँ आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूले अगाडि सारेको सात सङ्कल्पअनुसार काठमाडौँ महानगरलाई समृद्ध बनाउने बताइन् । 

“म गर्न नसक्ने ठूला कुरा सपना बाँड्दिन, आफूले अगाडि सारेको सङ्कल्प पूरा गर्छु”, उनले भनिन् । उनले काठमाडौँको प्रमुख समस्या फोहोर व्यवस्थापन भएको बताउँदै फोहोरको सफल व्यवस्थापनका लागि योजना बनाएर अगाडि बढ्ने विश्वास व्यक्त गरिन् ।

उनले महानगरभित्रका कार्यालय विभिन्न स्थानमा छरिएर कारण सेवाग्राहीलाई सेवा प्राप्त गर्न समस्या भएको बताउँदै प्रविधिको माध्यमबाट घरघरबाट सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्ने बताइन् । 

नेतृ सिंहले सेवा र सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ, सफा र दिगो पर्यटन, सुरक्षित सहर, संस्कृति, सम्पदा र सभ्यता, सबल र समुन्नत पूर्वाधार, सबल युवा, स्वावलम्बी महिला, सृजनशील महानगरवासी निर्माण आफ्नो मुख्य अभियान रहेको बताइन् । 

कांग्रेस बागमती प्रदेशका सहमहामन्त्री जीवन डङ्गोलले काठमाडौँको प्रमुखमा कांग्रेसले महिलालाई उम्मेदवार बनाएर देशभरका महिलाको सम्मान गरेको बताए । उनले कांग्रेसको पहिलो सरकारले द्वारिकादेवी ठकुरानीलाई मन्त्री बनाएको स्मरण गर्दै राजनीतिमा महिला सक्षम भएको उदाहरण कांग्रेसले दिएको उल्लेख गरे । 

कांग्रेस काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्षका उम्मेदवार ख्यामराज तिवारीले ठमेलदेखि नयाँ बसपार्क क्षेत्रको विकासका लागि कांग्रेसका उम्मेदवारलाई विजय गराउन सबैलाई आग्रहसमेत गरे । 

कांग्रेसले महिलालाई काठमाडौँको प्रमुखको उम्मेदवार बनाएर राम्रो कामको शुरुआत गरेको भन्दै घर व्यवस्थापन गर्ने महिलाले महानगरको कुशल व्यवस्थापन गर्ने उनको भनाइ थियो ।

कांग्रेस काठमाडौँ महानगरपालिका–२६ को सदस्यमा प्रवेश श्रेष्ठ, बाबुकाजी महर्जन, शान्ता प्रजापति र रुपा नेपालीले उम्मेदवारी दिएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ