arrow

अमेरिकाले प्रतिबन्ध लगाएका पूर्व सुरक्षा प्रमुख बने हङकङका नयाँ नेता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २५ आइतबार
john-lee-hongkong.PNG

काठमाडौं । हङकङको नयाँ कार्यकारी प्रमुखमा बेइजिङ समर्थक मानिएका पूर्व सुरक्षा प्रमुख जोन ली छानिएका छन् । आइतबार १,५०० सदस्यीय निर्वाचन समितिबाट १,४१६ मत प्राप्त गर्दै जोन ली हङकङको नयाँ कार्यकारी प्रमुख बनेका हुन् ।

नेता चुन्ने निर्वाचन समितिमासमेत बढी जसो सदस्यहरु बेइजिङ समर्थक नै राखिएको आरोप छ । जोन लीले सन् २०१९ मा चीनले हङकङमाथि राष्ट्रिय सुरक्षा कानून लागू गर्ने क्रममा भएको लोकतन्त्रवादी आन्दोलनको निरीक्षणको जिम्मा पाएका थिए । यस बाहेक उनी पूर्व हङकङ सुरक्षा सचिव पनि हुन् ।

चीनले हङकङलाई पूर्णरुपमा आफूमाथि समाहित गर्न खोजिरहेका बेला बेइजिङ समर्थक नेता नै खडा गरेको टिप्पणीसमेत शुरु हुन थालेको छ । लीले सन् २०१७ देखि कार्यभार सम्हाल्दै आएकी निवर्तमान प्रमुख कार्यकारी क्यारी ल्यामको स्थान लिनेछन् ।

ली हङकङको उच्च पदमा पुग्ने पहिलो सुरक्षा अधिकारीसमेत बनेका छन् । हङकङको लोकतन्त्रलाई कुल्चने बेइजिङले लागू गरेको राष्ट्रिय सुरक्षा कानून लागू गर्न भूमिका निभाएका कारण गत वर्ष संयुक्त राज्य अमेरिकाले नयाँ नेताका रुपमा चुनिएका ६४ वर्षीय लीमाथि प्रतिबन्धसमेत लगाएको थियो । 

चिनियाँ अधिकारीहरुले हङकङमा राष्ट्रिय सुरक्षा कानून भन्दै नयाँ कानून लागू गरेपछि अहिले त्यहाँ लोकतन्त्रको पक्षमा रहेका समूह, सञ्चारमाध्यम एवं नागरिकहरु विरुद्ध कडा कारबाही हुँदै आएको आरोप छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ