arrow

कसले गरिरहेकाे छ रुसमा निरन्तर आक्रमण ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २६ सोमबार
russia-usa-attack-ukraine.jpg

काठमाडौं । रुसको राजधानी मास्कोको उत्तर पश्चिम टभरमा रहेको एक एरोस्पेस अनुसन्धान संस्थानमा भीषण आगलागी भएको छ । १,१०० किलोमिटर पूर्वमा रहेको पर्ममा रहेको एक हतियार कारखानामा अर्को आगलागी भएको छ । यसबाहेक बेलारुस नजिकैको ब्रायान्स्कमा दुई अलग तेल डिपोमा आगलागी भएको छ ।

यसलाई संयोग अथवा रुसी आक्रमणको बदलामा युक्रेन र त्यसका समर्थकहरूले रुसमा तोडफोडको अभियान चलाइरहेको भन्ने सङ्केत गरेको छ । अप्रिल २१ मा टभरमा रहेको एयरोस्पेस डिफेन्स फोर्सको केन्द्रीय अनुसन्धान संस्थानमा भएको आगलागीबाट कम्तीमा १७ जनाको ज्यान गएयता रुसमा कतै न कतै आगलागी भएको हरेक घटनाले सामाजिक सञ्जाल तताएको छ ।

खासगरी रुसी संवेदनशील क्षेत्रमा यस्ता आक्रमण भइरहँदा रुस गोप्य आक्रमणमा परेको सङ्केत देखिएको छ । यी घटनाको जिम्मेवारी कसैले नलिए पनि ब्रायान्स्कमा भएका र अन्य केही घटना युक्रेनले आफूमाथि आक्रमण गर्नेविरुद्ध बदला लिएको हुनसक्ने अनुमान विश्लेषकहरूले गरेका छन् ।

टेलिग्राममा एक पोस्ट गर्दै युक्रेन राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका वरिष्ठ सल्लाहकार मिखायलो पोडोल्याकले आगलागीलाई ‘भगवानको हस्तक्षेप’ भएको टिप्पणी गरेका छन्, ‘ठूला इन्धन डिपोहरू समय–समयमा विभिन्न कारणले जल्छन्।’

रुस जस्तो विशाल देशमा कतै टाढाको कारखाना वा भवनमा आगलागीका कुराले खासै ध्यान खिचेको हुँदैन । तर रुसी सेनाले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेयता युक्रेनीहरूले बदला लिएको हुनसक्ने भनिएका दर्जन बढी आगलागीका घटनाले सामाजिक सञ्जालमा कयौँको ध्यान खिचेको छ ।

गत महिनाको अन्त्यमा रुसको सुदूर पूर्व भ्लादिभोस्टोकको उत्तरमा रहेको एयरबेस र सखालिनमा रहेको कोइला प्लान्टमा भएको आगलागीले पनि यस्तै शङ्का उत्पन्न गरेको छ।

यसैबीच बुधबार मास्कोको पूर्व जर्जनइस्कमा एक विशाल रसायन कारखानामा आगलागी भएको छ । रुसमा भइरहेका यस्ता घटनाहरू सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका युक्रेन रेसकार चालक इगोर सुस्कोले भनेका छन्,  ‘पुटिनविरुद्ध रुसी विध्वंसकहरूले आफ्नो वीरतापूर्ण कार्य जारी राख्छन्।’ 

जेलेन्स्कीका अर्का सल्लाहकार ओलेक्सी अरेस्टोभिचले न्यूयोर्क टाइम्ससँग बोल्दै यस विषयमा खुल्न चाहेनन् । उनले इजरायलले आफ्नो गोप्य आक्रमण र हत्याहरू कहिल्यै स्वीकार गर्दैन भन्दै ‘हामी पुष्टि गर्दैनौँ, र हामी अस्वीकार पनि गर्दैनौं’  भनेका छन्।

युक्रेनको रणनीति हो ?

ब्रायान्स्कमा युरोपमा तेल पठाउने सुविधा भएको आक्रमण युद्धसँग जोडिएको युद्ध विश्लेषकहरूको भनाइ छ । एक विश्लेषकले ब्रायन्स्कमा भएको आक्रमण युक्रेन बेराक्तार ड्रोनहरूले गरेको जनाएको छन् ।

यदि यो कुरा सत्य हो भने यसले युक्रेनसँग रुसी क्षेत्रमा लामो दूरीको आक्रमण गर्ने क्षमता रहेको देखाएको छ । ‘मलाई लाग्छ कि यो सम्भवतः युक्रेन आक्रमण थियो तर हामी निश्चित हुन सक्दैनौँ’, अर्का युद्ध विश्लेषक रोब लीले द गार्डियनलाई भनेका छन् ।

यसबाहेक युक्रेन सीमा नजिकको कुर्स्क र बेल्गोरोड ओब्लास्टका विभिन्न पूर्वाधारहरूमा हेलिकप्टर र ड्रोनबाट थुप्रै गोलाबारी र आक्रमणका घटनाहरू छन् । बेल्गोरोड र कुर्स्कका गभर्नरहरूले यसको दोष युक्रेन युक्रेनलाई लगाएका छन् ।

बेल्गोरोड इन्धन डिपोमा अप्रिल १ मा भएको आक्रमणलाई त्यहाँका गभर्नर व्याचेस्लाभ ग्लाडकोभले आफ्नो टेलिग्राम च्यानलमार्फत युक्रेनको सशस्त्र सेनाका दुई हेलिकप्टरले रुसी क्षेत्रमा प्रवेश गरेर हवाइ हमला गरेपछिको परिणाम भएको बताएका थिए ।

स्कटल्याण्डको सेन्ट एन्ड्रयूज विश्वविद्यालयका रणनीतिक अध्ययनका प्राध्यापक फिलिप्स ओब्रायनले भनेका छन्, ‘रणनीतिक र सैन्य लक्ष्यमा प्रहार गरेको तथ्य बाहेक यो तोडफोड युक्रेनले गरेको हो भन्ने पुष्टि गर्ने कुनै आधार नभएको’ बताएका छन् । ‘यस्ता आक्रमणहरु पक्कै पनि उनीहरूको रणनीतिको हिस्साका रूपमा देखिन्छन्’, उनले भनेका छन् ।

पेन्टागनका अधिकारीहरूले युक्रेनभित्र रुसी सेनाहरू ढुवानीको समस्याका कारण अड्किएको भन्दै तिनीहरूको पूर्वाधारमा आक्रमण गर्नुले युद्धको प्रयासलाई असर पर्ने बताएका छन् । यद्यपि युक्रेनले रुस भित्रका सैन्य सुविधा एवं संवेदनशील क्षेत्रमा आक्रमण गरेको विषयमा टिप्पणी गरेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ