arrow

युक्रेनमा मास्कोको सैन्य कारबाही पश्चिमको आक्रामकता रोक्न हो - पुटिन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २६ सोमबार
putin-victory-day.PNG

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा मास्कोले गरेको सैन्य कारबाही पश्चिमको आक्रामकतालाई रोक्नका लागि पूर्व कदम भएको बताएका छन् ।

दोस्रो विश्वयुद्धमा जित हात पारेको स्मरण गर्दै रुसले प्रत्येक वर्ष मे ९ मा विजय दिवस मनाउँदै आएको छ । आज विजय दिवसका अवसरमा सम्बोधनका क्रममा बोल्दै पुटिनले युक्रेनमा रहेका रुसी सेनाहरु आफ्नो देश र जनताको लागि लडिरहेको बताएका छन् ।

यस्तै पुटिनले पूर्वी युक्रेनी डोनबास क्षेत्रमा सेना र स्वयंसेवकहरू 'मातृभूमि र यसको भविष्यको लागि लडिरहेका' बताएका छन् । यस्तै उनले पश्चिमले 'हाम्रो भूमिमा आक्रमण'को तयारी गरेकोसमेत सम्बोधनका क्रममा भनेका छन् ।

दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि सोभियत संघको विजयको वार्षिकोत्सवको अवसरमा  मास्कोको रेड स्क्वायरमा आयोजना हुने वार्षिक परेडमा बोल्दै पुटिनले यस्तो टिप्पणी गरेका हुन् ।

यस्तै उनले नेटोलाई रुसको लागि 'स्पष्ट खतरा' भन्दै आफ्नो 'विशेष सैन्य अपरेशन' आवश्यक भएको र 'सही निर्णय' भएको बताएका छन् ।

यस्तै पुटिनले युक्रेन युद्धका कारण शोकमा परेका परिवारहरूको हेरचाह गर्न राज्यले 'सबै कुरा' गर्ने बताएका छन् । 'हरेक सैनिक र अधिकारीको मृत्यु हाम्रा लागि पीडादायी छ,'  सम्बोधनका क्रममा पुटिनले भने । पुटिनले रेड स्क्वायरमा तोप फायर र रुसको राष्ट्रिय गानमा सैनिकहरूको जयजयकारकाबीच आफ्नो भाषण सकाएका थिए ।

दोस्रो विश्वयुद्धका क्रममा करिब २ करोड ७० लाख रुसी नागरिकले ज्यान गुमाएका थिए ।

पुटिनले मास्कोको रेड स्क्वायरमा भेला भएका हजारौं सेनालाई सम्बोधन गर्दै युक्रेनमा रूसी सेनाले 'नाजीवाद' विरुद्ध लडाइँ जारी राखेको बताएका छन् ।  

उनले विश्वव्यापी युद्धको त्रास फेरि नदोहोरियोस् भनेर सबै कुरा गर्न यो महत्त्वपूर्ण रहेको पुटिनले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ