arrow

कांग्रेसका उम्मेदवार जिताउनुहोस् विकासको जिम्मा पार्टीले लिन्छ – गगन थापा 

logo
विवेक मिश्र, 
प्रकाशित २०७९ वैशाख २७ मंगलबार
gagan-morang-bhasan.jpg

मोरङ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उर्लाबारीमा कांग्रेसबाट निर्वाचित प्रत्येक जनप्रतिनिधिको जिम्मा लिने बताएका छन् । स्थानीय तहमा निर्वाचित भएर पाँच वर्ष काम गर्ने अनि परिणाम पनि देखाउने अठोट गर्दै उनले यस्तो बताएका हुन् ।

सोमबार नेपाली कांग्रेस नगर समितिले उर्लाबारी ७ बरगाछीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले स्थानीय तहका लागि पार्टीले ११ वटा मन्त्र बनाउँदै भने, ‘नेपाली कांग्रेसले जितेका स्थानीय तहमा ११ वटा मन्त्र अनुसार काम हुनेछन् ।’ शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी लगायतका क्षेत्रमा के के काम गर्ने भन्ने कुरा निक्यौल गरेर विकासलाई अघि बढाउने उनले बताए ।

‘कांग्रेसबाट निर्वाचित मेयर अब मेयरसाब हुँदैन’ महामन्त्री थापाले भने, ‘अब मेयर जनताको बीचमा बस्नेछ ।’ पाँच वर्ष काम गरेर परिचित भइसकेका खड्ग फागोलाई पुनः मेयरमा जिताउन उनले उर्लाबारीबासीलाई आग्रह गर्दै भने, ‘कांग्रेसका उम्मेदवार जिताउनुहोस् उर्लबारीको विकासको जिम्मा पार्टीले लिन्छ’ फागोका नगर विकासका योजना आफूले सुनेको बताउँदै थापाले भने, ‘उहाँको काम गर्ने इच्छा सुनेको छु । विगतमा असहयोग हुँदा हुँदै पनि उल्लेखनीय कार्य गर्न सक्नुभयो ।’ 

पाँच वर्ष काम गर्ने क्रममा प्रदेश सरकारले लगातार असहयोग गरेको र संघीय सरकार अनुदार भएका कारण काम गर्न समस्या परेको उनले बताए ।

सभालाई सम्बोधन गर्दै उर्लाबारीको मेयर पदका उम्मेद्वार खड्ग फागोले पाँच वर्षे कार्यकालमा आफूले साढे ३१ महिना मात्र काम गर्न पाएको बताए । उर्लाबारीको विकास र समृद्धिका लागि कटिबद्ध भएर लाग्दा आफूमाथि विभिन्न अनर्गल प्रचार भएको बताउँदै फागोले नगरको विकासमा सिंह हुनु परे पनि तयार रहेको बताए । 

आफू नगर प्रमुख रहँदा एक रुपैयाँ भ्रष्टाचार नगरेको र गर्न पनि नदिएको उनले बताए । विपक्षीहरुले आफूमाथि विभिन्न भ्रम सिर्जना गरेको बताउँदै उनले सत्य कुराको पछि लाग्न नगरबासीलाई आग्रह गरे ।

विगतमा अल्पमतमा परेका कारण भनेजस्तो विकास गर्न नपाएको भन्दै फागोले अबको निर्वाचनमा बहुमतले निर्वाचित गराउन अनुरोध गरे । 

कार्यक्रममा सभामा कांग्रेसका केन्द्रीय सदस्य तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू, कांग्रेस मोरङ क्षेत्र नं १ का सभापति शंकर राई, उपमेयरकी उम्मेदद्वार सीता कार्की लगायतले मन्तव्य राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ