कर्णालीमा समीकरण भत्किए पनि कोशी सरकार सुरक्षित रहने मन्त्री लिंथेपको दाबी
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३१ बुधबार
297
Shares
काठमाडौँ । कर्णाली प्रदेशमा नेपाली कांग्रेसका सबै मन्त्रीहरूले मुख्यमन्त्रीसमक्ष सामूहिक राजीनामा बुझाएपछि केन्द्र तथा प्रदेशहरूको सत्ता समीकरण फेरिने लख काट्न थालिएको छ। सुदूरपश्चिम प्रदेशमा समेत सत्ता साझेदार दलहरूबीच तीव्र मतभेद देखिइरहेका बेला कोशी प्रदेश सरकारको निरन्तरता र भविष्यलाई लिएर राजनीतिक वृत्तमा विभिन्न टिकाटिप्पणी र चासो शुरू भएको छ।
यसैबिच, कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिंथेपले भने अन्य प्रदेशको राजनीतिक उतारचढावले कोशीमा कुनै असर नगर्ने र यहाँको सत्ता समीकरण नटुट्ने दृढ दाबी गरेका छन्। नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै मन्त्री लिंथेपले कोशी प्रदेशमा नेकपा (एमाले) र नेपाली कांग्रेसबीचको सहकार्य तथा राजनीतिक यात्रा यथावत् रहने स्पष्ट पारे।
बहुमतका आधारमा सरकार गठन हुने संवैधानिक व्यवस्था रहेको स्मरण गराउँदै उनले कोशी प्रदेशको वर्तमान सत्ता गठबन्धनमा कुनै पनि प्राविधिक वा राजनीतिक समस्या नरहेको दाबी गरे। कोशी प्रदेशमा कांग्रेस र एमालेबिच आलोपालो नेतृत्व गर्ने आन्तरिक सहमति रहेको चर्चा चुलिइरहेका बेला हाल एमालेका स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीको नेतृत्व सम्हाल्दै आएका छन्।
यसअघि आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यका केही बुँदा र मन्त्रालयगत सिलिङलाई लिएर कांग्रेसका प्रादेशिक सांसदहरूले सुरुवाती चरणमा कडा असन्तुष्टि जनाएका थिए। तर, दुवै दलका शीर्ष नेताहरूबीच विभिन्न चरणमा भएको सघन छलफल र समझदारीपश्चात् असन्तुष्टि सम्बोधन गर्दै बजेट प्रदेशसभाबाट सर्वसम्मत रूपमा पारित भइसकेको छ। मन्त्री लिंथेपले बजेट पारित हुनुले नै कोशीमा दुई दलबीचको जग बलियो रहेको प्रमाणित गर्ने उल्लेख गरे।