arrow

भरतपुर जितेपछि रेणुले भनिन् - विपक्षीहरूले हराउनका लागि ठूलो योजना बुने तर सफल भएनन्

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १० मंगलबार
renuj.PNG

चितवन । विपक्षीहरूले हराउनका लागि ठूलो योजना बुने पनि असफल भएको भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेणु दाहालले बताएकी छन् । प्रमुख पदमा पुनःनिर्वाचित भएपछि रेणुले यस्तो प्रतिक्रिया दिएकी हुन् । उनलाई  नेकपा एमालेका विजय सुवेदी र नेपाली कांग्रेसका विद्रोही जगन्नाथ पौडेलले चनौती दिएका थिए । 

गठबन्धनभित्र चुनौती भए पनि गठबन्धनभित्रका दलले इमानदारिता प्रकट गरेकाले जित भएको उनको भनाइ थियो । उनले भनिन्, “विपक्षीहरूले हराउनका लागि ठूलो योजना बुने तर पनि असफल भएका छन् । अब हामी मतदाताले दिएको जिम्मेवारी पूरा गर्न तर्फ लाग्छौँ । 

उनले महानगरवासीलाई निराश हुन नदिने बताइन् । स्थानीय तहमा यो आफ्नो अन्तिम कार्यकाल भएको भन्दै उनले महानगरका अधुरा काम पूरा गर्ने बताइन् । उनले भनिन्,“देशकै ध्यान यो महानगरमा रहेकाले आफू जित्नु सुखद भए पनि जनताको भावना बुझेर काम गर्छु”, उनले भनिन्,“स्थानीय सरकार भनेको राजनीति गर्ने ठाउँ होइन, विकास निर्माण गर्ने हो, त्यतै तर्फ लाग्छु ।” 

पहिलो पटकको कार्यकालमा महानगरमा आफूले गरेको पहिलो निर्णय अहिले धेरै पालिकाले सुरु गरेकाले त्यो जनताबाट अनुमोदित भएको उनले बताइन् । पहिलो पटक उन निर्वाचित भएसँगै पहिलो निर्णय भरतपुर अस्पतालमा महिलाका लागि बहिरङग सेवाको टिकट निःशुल्क गरिएको थियो । पाँच दलीय गठबन्धन शान्ति र प्रगतिको लागि भएकाले यो लामो समयसम्म जाने बताउँदै उनले यो भत्किहाल्ने, टुटिहाल्ने जस्तो केही पनि नहुने बताइन् ।

निर्वाचन अघि सार्वजनिक गरेको प्रतिबद्धता अनुरूप नै आफू अबको पाँच वर्ष उही गतिमा काम गर्ने उनले दोहोर्‍याइन् । उनले भनिन् “महानगरभित्र पूरा गर्न बाँकी योजना, आयोजना यो कार्यकालभित्रै सम्पन्न गर्ने तर्फ विशेष ध्यान जान्छ ।” 

भरतपुरलाई स्मार्ट सिटी बनाउने अवधारणा अनुसार केही काम अगाडि बढे पनि पूर्ण नभएकाले त्यसमा बढी ध्यान जाने उनको भनाइ थियो । उनले भनिन् “भरतपुरमा मुख्य गरेर रोजगारीको समस्या विकराल बन्दै गएको छ । त्यसको समाधान तर्फ पनि विशेष ध्यान दिने छु ।” शिक्षा, स्वास्थ्य, पूर्वाधार, विकास, फोहर तथा ढल व्यवस्थापनमा जोड दिने भन्दै उनले आफूले गरेको कामको अनुमोदन जनताले गरिदिएकोमा खुसी प्रकट गरिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ