arrow

प्रत्येक घरमा इन्डक्सन चुल्हो वितरण गर्दै कालीगण्डकी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ११ बुधबार
Kaligandaki gaunbpalika.jpg

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले प्रत्येक घरधुरीमा इन्डक्सन चुल्हो वितरण गर्ने भएको छ । गाउँपालिकाभित्र बसोबास गर्ने झण्डै चार हजार ६०० घरधुरीलाई लक्षित गरी पालिकाले ग्यास चुल्हो प्रतिस्थापन गर्दै इन्डक्सन चुल्हो वितरण गर्ने योजना अगाडि सारेको हो ।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गर्दै ग्यासको बढ्दो मूल्य वृद्धिलाई मध्यनजर गर्दै गाउँपालिकाभित्रका सबै घरधुरीमा विद्युतीय इन्डक्सन चुल्हो वितरण गर्ने पहिलो निर्णय गरेका छन् ।

गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले भने, ‘घर-घरमा रहेका ग्यासका सिलिण्डर लिने र इन्डक्शन चुल्हो दिने निर्णय गरेका छौँ ।’ यसलाई आगामी गाउँसभाबाट पारित गरेर लागू गर्ने उनले बताए ।

कालीगण्डकीलाई धुँवारहित पालिका बनाउने लक्ष्यका साथ अगाडि बढेको उल्लेख गर्दै उनले विद्युतको प्रयोगमा जोड दिइएको बताए । यसअघि वडा नं ५ को दलित समुदायमा इन्डक्सन चुल्हो परीक्षणका रूपमा वितरण गरिएको थियो ।

उक्त कार्यक्रम प्रभावकारी भएसँगै यस पटक पूरै गाउँपालिकाभरि नै इन्डक्सन चुल्हो वितरण गर्ने योजना अगाडि सारिएको हो । गाउँपालिकाले विद्युतको पहुँच सबै घरधुरीमा पुर्याउन न्यूनतम विद्युतीय महशुल भुक्तानी गर्दै आएको छ । यसअघि पनि गाउँपालिकाले न्यूनतम २० युनिटसम्म विद्युत् महसुल निःशुल्क गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ