arrow

आईकाओले नेपाली आकाश सुरक्षित भनिसक्यो ईयूको प्रतिबन्ध सूचीबाट हटाइयोस् – मन्त्री आले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १२ बिहिबार
prem-ghale-eu-rajdoot-nona.jpg

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले तथा नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच बिहीबार मन्त्रालयमा भेटवार्ता भएको छ । 

मन्त्री आले तथा राजदूत डिप्रेजबीच नेपालको उड्डयन क्षेत्र सुरक्षित भएकाले ईयूको सेफ्टी लिष्ट (प्रतिबन्ध) बाट नेपाललाई कसरी हटाउने भन्ने विषयमा छलफल भएको मन्त्री आलेका निजी सचिव मनोज अधिकारीले जानकारी दिए । 

उक्त भेटवार्ताका क्रममा मन्त्री आलेले राजदूत डिप्रेजलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आईकाओले नेपालको उडान सुरक्षाका आठ क्षेत्रमा नियामक निकायको हैसियतमा पालना गरेका कार्यको परीक्षणमा परिपालना दर प्रारम्भिक नतिजाअनुसार ७०.१ प्रतिशत रहेको र यो दर विश्वका अन्य देशका तुलनामा औसतभन्दा बढी भएकाले नेपाली आकास सुरक्षित रहेको बताए । 

उनले भने, “आईकाओको नतिजाअनुसार नेपाली आकास सुरक्षित रहेको भन्ने देखाएको छ, अब नेपाल ईयूको प्रतिबन्ध सूचीबाट हट्नुपर्छ ।”

आठ वर्षअघि ईयूले नेपालको हवाई सुरक्षा कमजोर भएको मूल्याङ्कन गर्दै कालोसूचीमा राखेको हो । उता नेपालले हवाई सुरक्षाका क्षेत्रमा राम्रो सुधार गरेको भन्दै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आईकाओले नेपालको नाम आफ्नो कालोसूचीबाट हटाइसकेको छ । ईयूले नेपालको हवाइ क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्डबमोजिम पाइलटको योग्यता र तालिम हुनुपर्ने जनाएको थियो । 

सोही भेटवार्ताका क्रममा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक ई प्रदीपकुमार अधिकारीले हाल प्राधिकरणले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आईकाओको मापदण्डअनुसार पाइलटको योग्यता र तालिम व्यवस्थित रहेको जानकारी पनि दिएका थिए । 

हाल नेपाल वायुसेवा निगम, बुद्ध एयर र हिमालय एयरलाइन्स गरी तीन वटा नेपाली वायुसेवाले अन्तर्राष्ट्रिय उडान गर्ने गरेका भए पनि ईयूको कालोसूचीबाट नहटेसम्म युरोप उडान गर्ने अवस्था नभएको बताइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ