arrow

तिलोत्तमा नगरपालिकाको प्रमुखमा काँग्रेसका रामकृष्ण खाँण निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १३ शुक्रबार
tilottama-mayor-ram-krishna-khad.jpg

बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका रामकृष्ण खाँण विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवार मोहन चापागाईँलाई झिनो मतले पराजित गर्दै खाँण विजयी भएका हुन्। उनले २४ हजार ३९६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका चापागाईँले २३ हजार ६३१ मत प्राप्त गरेका थिए । ७६५ मतको अन्तरले खाँण विजयी भएका हुन् ।

उपप्रमुखमा भने नेकपा एमालेकी जगेश्वरदेवी चौधरी विजयी भएकी छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका हेमन्त पाण्डेलाई ११ हजार मतान्तरले पराजित गर्दै चौधरी विजयी भएकी हुन् । 

काँग्रेसका रुपन्देही जिल्ला सभापति समेत रहेका गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाइ रामकृष्ण खाँण २०७४ सालको निर्वाचनमा एमालेका वासुदेव घिमिरेसँग दुई हजार सात सय मतान्तरले पराजित भएका थिए । ८५ हजार मतदाता रहेको तिलोत्तमामा कुल ६४ हजार ७०७ मत खसेको थियो ।

तिलोत्तमा एमाले नेता घनश्याम भुसालको गृह नगर हो भने एमाले उपाध्यक्ष विष्णु पौडेलको पनि निर्वाचन क्षेत्र पनि पर्दछ । गृहमन्त्री बालकृष्ण खाँणको गृह नगर र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले मतदान गरेको क्षेत्र समेत हो । तिलोत्तमामा २०७४ सालमा एमालेले प्रमुख र उपप्रमुख सहित १३ वडा अध्यक्ष जितेको थियो ।

यस पटक भने काँग्रेसले नौ र एमालेले सात वटा वडा अध्यक्ष जितेको छ । वडा नं १, ४, ७, १०, ११, १२ र १५ मा नेकपा एमालेले विजय हासिल गरेको छ भने वडा नं २, ३, ५, ६, ९, १३, १४, १६ र १७ मा नेपाली काँग्रेसले विजय हासिल गरेको छ । तिलोत्तमामा काँग्रेस र माओवादीको गठबन्धन थियो ।



नयाँ