arrow

जाेमसाेम टावरसँग घोडेपानीमा अन्तिम सम्पर्क, यहाँ हरायाे तारा एयरको विमान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १५ आइतबार
tara-air-plane-crash.png

काठमाडौं । आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोङका लागि उडेको तारा एयरको विमान म्याग्दीको शिख क्षेत्रबाट सम्पर्कविहीन भएको छ । 

१९ यात्रु र ३ जना चालक दलका सदस्य गरी २२ जना सवार विमान म्याग्दीको शिख क्षेत्रमा पुगेपछि सम्पर्कविहीन भएको फ्लाइट राडार२४ले देखाएको छ ।

एडीएसबी, एमएलएटी र राडारबाट आएको तथ्यांकका आधारमा फ्लाइट राडार२४ले विमानलाई लाइभ ट्रयाक गरिरहेको हुन्छ । विमान रहने एडीएसबी ट्रान्सपोन्डरले विमान रहेको ठाउँको तथ्यांक पठाउने गर्छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले तारा एयर प्रालिको ट्विनअट्टर ९एनइएटी विमान अन्तिम पटक जोमसोम टावरसँग १०ः०७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएर त्यसपछि उक्त विमान सम्पर्कविहीन भएको बताएको छ ।

यसरी हेर्दा जोमसोम टावरसँग भन्दा बढी समय फ्लाइट राडार२४ले विमानलाई ट्रयाक गरेको देखिन्छ । फ्लाइट राडार२४ले विमानसँग शिख पहाडसम्म सम्पर्क राखेको देखिन्छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ शिखका वडा अध्यक्ष राजेश तेरिजा पुनले सो क्षेत्रमा विमानको कुनै गतिविधि थाहा नपाएको बताएका छन् । हाम्राकुरासँग बोल्दै उनले त्यहाँ प्रहरीले पनि खोजी थालेको र आफुहरुले अहिलेसम्म कुनै जानकारी नपाएको बताएका छन् ।

फ्लाइट राडार२४ले शिख क्षेत्रमा सम्पर्कविहीन भएको देखाए पनि विमाानले त्यसभन्दा केही वरपरसम्म उडान जारी राख्ने सम्भावना रहन्छ। 

सरकारी अधिकारीहरुका अनुसार तारा एयरको विमान लेते क्षेत्रसम्म सम्पर्कमा रहेको बताइएको छ । शिख भन्दा केही पर मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर ३ मा पर्छ लेते।

३ नम्बर वडा लेतेका वडा अध्यक्ष हरिप्रसाद गौचनले त्यहाँको मौसम अहिले बदली रहेको बताएका छन् । 'पूरै बादलले लागेको छ यता उता देख्न सकिने स्थिती छैन्,' हाम्राकुरासँग बोल्दै वडाअध्यक्ष गौचनले भने ।

उनले पनि विमानको कुनै गतिविधिबारे आफले जानकारी पाइ नसकेको बताएका छन् । अहिले विमानको खोजी कार्य जारी छ ।

यसरी प्राप्त तथ्यांकका आधारमा यदि विमानले सोझो दिशामा उडान जारी राखेको थियो भने शिख भन्दा पर, लेतेहुँदै जोमसोम यताका क्षेत्रमा विमान रहेको हुनसक्ने देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ