arrow

विमान दुर्घटनाको खबरले गाउँ डुब्यो शोकमा, मन्त्री पुगे घरमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १६ सोमबार
gole-gau.PNG

धनुषा । धनुषाको तुल्सी पाटो शोकमा डुबेको छ । तारा एयरको विमान दुर्घटनामा धनुषाको एकै परिवारका ७ जनाको मृत्यु भएपछि गाउँ शोकमा डुबेको हो । 

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमानमा धनुषाको मिथिला नगरपालिका वडा नम्बर ११ तुल्सी पाटोका एकै परिवारका सात जना थिए । उनीहरूले मुक्तिनाथ दर्शन गर्न जोमसोम जाँदै थिए ।

स्थानीय राजन कुमार गोलेका परिवार र आफन्तसहित ७ जना छन्।  विमानमा गोलेसहित उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेका थिए ।

शुक्रवार घरबाट मुक्तिनाथ दर्शनका लागि हिँडेका उनीहरू शनिवार पोखरा पुगेका थिए। आइतबार बिहानै तारा एयरको विमानबाट मुक्तिनाथ दर्शनका लागि हिँडेको परिवारजनले जनाएका छन् ।

एकै परिवारका सात जना विमान दुर्घटनामा परेको खबरले परिवारसहित गाउँले चिन्तामा डुबेको छ। एकै परिवार तथा एउटै टोलमा बस्ने सात जना विमान दुर्घटनामा परेपछि गाउँवासीमा रुवावासी चलेको छ ।

दुर्घटनामा परेका आफन्तलाई सान्त्वना दिन गाउँलेहरू घरमा भेला भएका छन् । सान्त्वना दिन मधेस प्रदेश सरकारका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो आफन्तको घर पुगेका थिए ।

चालक दलका तीन जनासहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका-२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । आइतबार बिहानदेखि सम्पर्कविहीन जहाज क्षतविक्षत अवस्थामा आज बिहान गोठाला र स्थानीयवासीको टोलीले भेटाएका हुन् । 



नयाँ