arrow

पोखरा र सुर्खेतबीच सहकार्य

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १८ बुधबार
Pokhara surkhet.jpg

पोखरा । पोखरा र सुर्खेत उद्योग वाणिज्य संघबीच निजी क्षेत्रका साझा एजेण्डा सँगै अगाडि बढाउने र पर्यटन क्षेत्रमा सहकार्य गर्ने सहमति बनेको छ। पोखराले सुर्खेत उद्योग वाणिज्य सङ्घको प्रतिनिधिमण्डलको स्वागतमा मङ्गलवार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा सो सहमति बनेको हो।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले पालिकाहरूमा आएका नयाँ जनप्रतिनिधिहरूले निजी क्षेत्रसँग भएको ज्ञान,सीप र पुँजीलाई राष्ट्र निर्माणमा लगाउनुपर्नेमा जोड दिए । 

यसअघि पालिका राजनीतिक दलहरूबाट आएका पालिका प्रमुखहरूले विचार नमिलेकै आधारमा उद्योग वाणिज्य सङ्घको नेतृत्वसँग सहकार्य गर्न नखोजेको तीतो अनुभव सुनाउँदै उनले निजी क्षेत्रलाई काम गर्ने वातावरण निर्माण पालिकाहरूको समुन्नति पनि सम्भव नभएको बताए । 

 पोखरा उद्योग वाणिज्य सङ्घ तथा कार्यक्रमका अध्यक्ष नारायण कोइरालाले पोखराको समग्र विकासमा निजी क्षेत्रले पुर्‍याएको योगदानको स्मरण गर्दै सङ्घ समृद्धिमा सहकार्य गर्न तयार रहेको बताए । 

पछिल्लो समय पोखरामा देखिएका पार्किङ, फोहर मैला व्यवस्थापनलगायतका समस्याहरूको समाधान एवं पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनतर्फ पालिकाको नयाँ नेतृत्वले ध्यान दिनुपर्ने उनको धारणा थियो । 

निजी क्षेत्र सदैव सहकार्यको पक्षमा रहेको उल्लेख गर्दै उनले निजी क्षेत्रको मानमर्दन गर्ने प्रवृत्ति भने रोकिनुपर्नेमा जोड दिए । पोखरा र सुर्खेत भौगोलिक रूपले एकै खालको रहेको र फेवालाई रारासँग जोड्न सके समृद्धि प्राप्त हुने उनको तर्क थियो ।

सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मण कँडेलले समग्र कर्णालीको विकासको लागि सुर्खेतले पोखरासँग सहकार्य गर्न खोजेको बताए । रारा तालको बजारीकरण र सो क्षेत्रमा रहेका जडीबुटीको प्रशोधनतर्फ सङ्घले ध्यान दिएको जानकारी दिँदै उनले सुर्खेत र पोखराबीच सहकार्यमा विशेष जोड दिए । 

पोखरा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापतिको धन्यवाद ज्ञापन तथा महासचिव सुरेन्द्रमान बिजुक्छेको सञ्चालन रहेको कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष धनबहादुर रावतलगायतले मन्तव्य राखेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ