arrow

इजरेल-यूएईबीच ऐतिहासिक व्यापार सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १९ बिहिबार
israel-uae-israel-trade-deal.jpg

काठमाडौं । इजरेल र संयुक्त अरब एमिरेट्स यूएईबीच मंगलबार अरबौं डलरको व्यापार सम्झौता भएको छ । दुई देशबीच सन् २०२० मा भएको एतिहासिक सम्बन्ध सुदृढीकरण सम्झौता अब्राह एक्कर्डपछिको यो अर्काे विशेष सम्झौता हो ।

आउँदो पाँच वर्षमा वार्षिक व्यापार १० अर्ब अमेरिकी डलर नाघ्ने उद्देश्यका साथ भएको यो सम्झौता इजरेल र कुनै अन्य अरब देशमध्ये सबैभन्दा ठूलो हो ।

यसले दुई मध्यपूर्वका मुलुकहरु बीचको ९६ प्रतिशत व्यापार आगटेको छ । इजरेलका अर्थमन्त्रीका अनुसार गत वर्ष दुवै देशबीच ८८ करोड ५० लाख अमेरिकी डलरभन्दा बढीको व्यापार भएको छ ।

सन् २०२० को अगस्टमा सम्बन्ध सामान्यीकरण भएका दुई देशबीच भएको यो व्यापार इजिप्टसँग सन् २०२१ मा भएको भन्दै दोब्बरले बढी हो । जुन कि इजिप्ट र इजरेलबीचको शान्ति सम्झौता सम्बन्ध सन् १९७९ देखि कायम छ ।

इजरेलका अर्थतन्त्र तथा उद्योग मन्त्री ओर्ना बारबिभाई र उनका यूएईका समकक्षी अर्थमन्त्री अब्दुल्ला बिन तौक अल मारीले महिनौंको वार्तापछि दुबईमा सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

यो सम्झौतामा भएको हस्ताक्षरले 'मध्य पूर्वको इतिहासमा नयाँ अध्याय खोलेको छ,' इमिराती व्यापार मन्त्री थानी अल जेउदीले ट्विटरमा लेखेका छन्, 'हाम्रो सम्झौताले विकासलाई गति दिनेछ, रोजगारी सृजना गर्नेछ र यस क्षेत्रमा शान्ति, स्थिरता र समृद्धिको नयाँ युगको नेतृत्व गर्नेछ।'

दुई देशबीचको विश्वास थप लगानीका लागि आवयश्क रहेको क्राउडफन्डिङ प्लेटफर्म आवरक्राउडका सीईओ र इजरायलको प्राविधिक क्षेत्रका उद्यम पुँजीपति जोन मेदवेडको भनाइ छ ।

सम्झौतामा हस्ताक्षर हुनुअघि मेदवेडले भनेका छन्, 'विश्वास भनेको तपाईले एक वा दुई महिनामा कमाउन सक्ने कुरा होइन, मलाई लाग्छ त्यहाँ ठूलो सद्भावना छ।'

उनको फर्मले पहिले नै युएईमा लगानी गरी कर्मचारीहरु समेत राखेको छ भने, अबु धाबी ग्लोबल मार्केट, युएई फ्री जोनबाट नियामक स्थिति समेत प्राप्त गरिसकेको छ ।

इजरेली र प्यालेस्टिनीबीचको हिंसा जारी रहेकै बेला यो सम्झौतामा हस्ताक्षर भएको हो ।

सोमबार हजारौं इजरेली राष्ट्रवादीहरूले इस्लामको तेस्रो पवित्र स्थल जेरूशलेमको अल अक्सा परिसरमा प्रदर्शन गर्दै मुस्लिम विरोधी नारा लगाएका थिए ।

प्यालेस्टिनीहरूलाई शारीरिक रूपमा आक्रमण गरेको र प्यालेस्टाइनी पत्रकारलाई अश्रु ग्यास छर्केको आरोपमा केहीलाई पक्राउसमेत गरिएको थियो ।

सन् १९६७ को ६ दिने युद्धमा इजरेलले जेरुसेलमको पुरानो सहर कब्जा गरेको सम्झनामा प्रदर्शनकारीहरू भेला भएका थिए।

यूएईको विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै इजरेली सेनाको संरक्षणमा अतिवादीहरुले अल अक्सा परिसरमा आँधी ल्याएको भन्दै निन्दा गरेको छ ।

यस्तै विज्ञप्तिमार्फत इजरेली अधिकारीहरूलाई द्धन्द्धको स्थिति कम गर्न र तनावपूर्ण गतिविधिहरुको जिम्मेवारी लिँदै अन्त्य गर्न आग्रह गरिएको छ ।

वेस्ट बैंकका अन्य शहरी क्षेत्रमा पनि इजरेली समूहले प्यालेस्टिनी छिमेकका घरमाथि हिंसात्मक आक्रमणहरू गरेका छन् । प्यालेस्टाइनी रेड क्रिसेन्टका अनुसार इजरेलीहरुको गतिविधि रोक्न गएका १६० भन्दा बढी प्यालेस्टिनी घाइते भएका छन्, जसमध्ये केहीलाई गोली लागेको थियो ।

इजरेली प्रधानमन्त्री नाफ्ताली बेनेटले यसलाई चरमपन्थी व्यवहार भनेर आालेचना गरेका छन् भने यसमा संलग्न जो कोहीलाई पनि पक्राउ गर्ने बताएका छन् ।

सोमबार, व्यापार सम्झौतामा हस्ताक्षर गर्ने क्रममा आमन्त्रित गरिएका मिडियाहरुलाई अचानक उपस्थित हुन नपाउने भनेको थियो । अचानक यसरी स्थिती परिवर्तन गरिनुको कारण नदिइएको रोयटर्सले जनाएको छ ।

अल अक्सा बहुसंख्यक अरबी रहेको पूर्वी जेरुसेलमको पुरानो शहरमा अवस्थित छ । यसलाई इजरेलले सन् १९६७ मा कब्जा गरेको थियो ।

तर, यसलाई अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको छैन भने प्यालेस्टिनी भूभागमा इजरेलकाे कब्जालाई संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय कानूनको उल्लंघनको रूपमा वर्गीकृत गरेको छ।

इजरेल र यूएई बीचको बढ्दो आर्थिक सम्बन्ध, प्यालेस्टिनी राज्यको आधिकारिक समर्थन गर्ने मुस्लिम देश यूएईको इजरेलसँग बढ्दो आर्थिक सम्बन्ध अहिलेसम्म प्यालेस्टाइन मुद्दाबाट भने अछुतो रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ