arrow

शुक्लागण्डकीमा सेवाग्राही सेवा प्रवाह सञ्चालन केन्द्र स्थापना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १९ बिहिबार
Shuklagandaki nagarpalika.jpg

तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका कार्यालयले सेवाग्राहीलाई सेवा प्रदान गर्ने उद्देश्यले सेवा प्रवाह सञ्चालन केन्द्र स्थापना गरेको छ । कार्यालयको पहिलो तलामा स्थापना गरिएको उक्त सेवा केन्द्रको आज नगरप्रमुख कृष्णराज पण्डितले उद्घाटन गरे । 

नवनिर्वाचित जनप्रतिनिधि निर्वाचित भएर आएपछि जनमुखी कार्यको थालनी गरिएको सो कार्यालयले जनाएको छ । नगरप्रमुख पण्डितले चुस्तदुरुस्त र मुस्कानसहितको सेवा प्रवाह गर्न, सेवाग्राहीको सेवामा एकरूपता ल्याउन र विना झन्झट सेवाग्राहीले सेवा लिन पाउने गरी सेवा केन्द्र स्थापना गरिएको बताए ।

कार्यालयमा सेवा लिन आएका सेवाग्राहीको काममा ढिलासुस्ती भएमा, कुनै विषयमा चित्त नबुझेमा प्रमुख र उपप्रमुखको ढोका सदैव खुल्ला रहेको उनले बताए । 

कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले कुन शाखामा गएर कसलाई भेटेर काम गर्ने हो भन्ने विषयमा अन्यौल हुने भई अनावश्यक दुःख भोग्नुपरेकाले सहजीकरणका लागि सेवा प्रवाह सञ्चालन केन्द्र स्थापना गरिएको हो । उक्त सेवा प्रवाह केन्द्रमा सुरुमा तीन कर्मचारी राखेर सेवा प्रवाह गरिएको नगरपालिका प्रवक्ता सचिन भुजेलले जानकारी दिए । 

“दुई महिनासम्म सेवा दिएर हेर्छौँ”, उनले भने, “त्यसपछि देखिएका कमीकमजोरीलाई सुधार्दै निरन्तरता दिने योजना रहेको छ ।” सेवा लिन आउने सेवाग्राहीलाई कुनै विषयमा चित्त नबुझेमा, कुनै समस्या आइपरेमा सम्बन्धित शाखा प्रमुख सेवाग्राही समक्ष आएर समाधान गरिदिने व्यवस्था रहेको छ । सेवाग्राहीले कार्यालयभित्रका कोठा कोठा चहार्दै हिँड्नुपर्ने समस्याको अन्त्य हुने विश्वास गरिएको सो नगरपालिका कार्यालयले जनाएको छ । 

सेवाग्राहीलाई आवश्यक पर्ने टेलिफोन, फोटोकपी, निवेदनका ढाँचालगायतका सेवा सोही सेवा प्रवाह सञ्चालन केन्द्रबाट प्रदान गरिनेछ । सेवा प्रवाह केन्द्रमा सेवाग्राहीको भीडभाड हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै जनशक्ति परिचालन गरिने प्रवक्ता भुजेलले बताए । 

उपप्रमुख खुमबहादुर विक राजु, प्रमुख प्रशासकीय अधिकृत लीलाबल्लभ न्यौपानेलगायत वक्ताहरुले सेवा प्रवाह केन्द्र प्रभावकारी ढङ्गले अघि बढाउन कर्मचारीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने सुझाव दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ