arrow

बागलुङ नगरपालिकामा बालमैत्री नगर घोषणाको पूर्वतयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २४ मंगलबार
baglung-bazar-ceotab.jpg

बागलुङ । बागलुङ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको पहिलो प्रतिबद्धता कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । नगरपालिकालाई ‘बालमैत्री नगरपालिका घोषणा’ को पूर्वतयारी शुरु गरिएको छ । 

नगरपालिकाले विभिन्न सूचक पूरा गरेर दुई वर्षभित्रै बालमैत्री नगर घोषणा गर्ने तयारी गरेको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका-२०७८ अनुसार बालमैत्री नगरपालिका घोषणका लागि ५१ वटा मापदण्ड पूरा गर्नुपर्ने उल्लेख गरिएको छ । 

नगरका १४ वटै वडाका वडाध्यक्ष, वडासचिव, नगर कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुखलाई सामाजिक विकास कार्यालयले उक्त नगरपालिकालाई बालमैत्री स्थानीय शासन प्रवर्द्धन तथा व्यवस्थापनसम्बन्धी जानकारी गराएपछि  बालमैत्री नगर घोषणाको पूर्वतयारी थालिएको हो । 

बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागितालाई मुख्य आधारका रुपमा लिइएर बालमैत्री नगर बनाउँदा विकासका धेरै आधारहरु तयार गर्नुपर्ने नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए । 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम बालमैत्री स्थानीय शासन प्रवद्र्धन गरी बालमैत्री वडा घोषण गर्ने जिम्मेवारी स्थानीय तहको वडालाई नै छ । उक्त ऐनअनुसार नगरपालिकाले बालमैत्री स्थानीय तह घोषण गर्ने जिम्मेवारी पूरा गर्नुपर्ने हुन्छ । सरकारले विसं २०८७ सम्म सबै स्थानीय तहलाई बालमैत्री बनाउने लक्ष्य लिएको छ । 

बालमैत्री नगर बनाउँदा स्थानीय तहको आवधिक तथा वार्षिक योजनामा बालअधिकारका सवालहरुलाई प्राथमिकता दिने, बालबालिकाको समुचित विकासका लागि आवश्यक पर्ने सबै सेवा, सुविधाहरुमा हरेक बालबालिकाको पहुँच सुनिश्चित गराउने स्थानीय तहमा बालबालिकासँग सम्बन्धित नीति, योजना र कानुन तर्जुमा गर्दा बालसहभागिता बढाउने, सबै भौतिक पूर्वाधारणहरु बालमैत्री हुनुपर्ने, बालबालिकाको हितविरुद्ध हुने सबै प्रकारका हिंसा उन्मूलन गर्नुपर्ने आधार उल्लेख छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ