अमेरिका जाने हवाई यात्रुले कोभिड परीक्षण गरेको प्रमाण देखाउनु नपर्ने
एजेन्सी,
प्रकाशित २०७९ जेठ २८ शनिबार
599
Shares
न्युयोर्क। अमेरिका जाने हवाई यात्रुहरूले अबदेखि कोभिड परीक्षण गरेको प्रमाण पेस गर्नु नपर्ने भएको छ। कोभिड महामारी घट्दै गएपछि अमेरिकी सरकारले पछिल्लो कदम चालेको हो। ह्वाइट हाउसका सहायक प्रेस सेक्रेटरी केभिन मुनोजले ट्विटरमा यसको पुष्टि गरेका हुन्। पयर्टक उद्योगको चर्को लबिङपछि सरकार कोभिड परीक्षण गरेको प्रमाण पेस गर्नु नपर्ने निर्णयमा पुगेको हो।
यसअघि सबै यात्रुहरूले आफ्नो उडानमा चढ्नु अघि वा यात्राअघि कोभिड परीक्षण नेगेटिभ भएको प्रमाण पेस गर्नु पर्दथ्यो। तर, आइतबारदेखि यो नियम समाप्त हुँदै छ। अमेरिकी रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) ले ९० दिनमा नीतिको पुनः मूल्याङ्कन गर्नेछ। प्रशासनले भन्यो कि यो नियम पुनर्मुल्याङ्कन गर्ने भएका छ। तर, नयाँ भेरिअन्ट देखिएमा र तत्काल पुरानो नीति अवलम्बन गर्न सकिने पनि केन्द्रले सङ्केत गरेको छ। अधिकांश गैर–अमेरिकी नागरिकहरूले अझै पनि देशमा यात्रा गर्न खोप लगाउनु पर्छ।
जनवरीदेखि अमेरिकामा कोभिड सङ्क्रमितको सङ्ख्या ह्वात्तै घटेको थियो। यद्यपि, पछिल्ला दिनमा फेरि सङ्क्रमण देखिन थालेको छ। अमेरिका कोभिड परीक्षण नीतिहरूको पुनःमूल्याङ्कनमा अन्य देशभन्दा पछाडि परेको त्यहाँको पर्यटन क्षेत्रको गुनासो छ।