- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपाल कृषिप्रधान देश हो । यसमा कुनै द्धिविधा छैन । ६० प्रतिशत जनता कृषिमा आधारित छन् । कूल गार्हथ्य उत्पादन जीडीपीमा कृषिको २५ प्रतिशत योगदान रहेको छ । तर कृषिका लागि यथोचित व्यवस्था हुन सकेको छैन । बाँझो जग्गाजमीन देख्दा र व्यवस्थित खेती नदेख्दा भने नेपाल साँच्चिकै कृषिप्रधान देश हो त ? भनी प्रश्न उब्जिन्छ र हरेक सरकारले त्यसको औचित्य पुष्टि गर्नुपर्ने हुन्छ ।
नेपाललाई कृषिप्रधान देश भनिए पनि हरेक वर्ष भारी मात्रामा अन्न आयात नगरी नहुने अवस्था आएपछि त्यसको पनि औचित्यमाथि प्रश्न उठ्ने गरेको छ । खासगरी सरकारले समयमा रासायनिक मल उपलब्ध गराउन नसक्दा यो समस्या उब्जेको दाबी गरिन्छ ।
वर्तमान मात्र नभइ यसअघिका सरकारले पनि मल दिन निकै नै कन्जुस्याइँ गर्दै आइरहेका छन् । सत्तामा रहँदा मल उपलब्ध गराउन नसक्ने र विपक्षमा बसेपछि भने पहिलो पटक मल अभाव भएजस्तै गरी संसदमा चिच्याएर नालायकीपन देखाउने क्रम हरेक पटक भइरहेको पाइन्छ ।
तीतो यथार्थ के हो भने नेपालमा रासायनिक मल उत्पादन हुँदैन । बाहिरबाट ल्याउनु पर्छ । विशेषगरी मल भारत, बंगलादेश लगायतबाट ल्याइन्छ । तर यही ल्याउनु पर्ने मल पनि समयमा नल्याएपछि कृषकले निकै नै समस्या खेप्दै आइरहेका छन् । यतिसम्म कि मलको अभावमा कतिपय अवस्थामा कृषकले खेतमा गरेको लगानी पनि उठेको पाइँदैन ।
मलको अभावमा कहिले अपेक्षाकृत मकै भइरहेको हुँदैन । कहिले धान भइरहेको हुँदैन भने कहिले गहुँ, जौं । अनि व्यवस्थित कृषि प्रणालीको अभावमा अन्य बाली, तरकारी, फलफूल लगायतमा पनि मलको समस्या देखिँदै आएको छ ।
सरकारले यसपालिको बजेटमा पनि कृषिमा विशेष ध्यान दिइरहेको जनाएको छ । प्राथमिकतामा कृषि क्षेत्र परेको छ । ३० प्रतिशत उत्पादन बढाउने नीति सरकारले ल्याएको छ । तर मल व्यवस्थित गर्न यसअघिका सरकारलाई जस्तै समस्या परेको देखिन्छ । मलको अभाव सधैभर परिरहन्छ ।
मल भएन भने जतिसुकै कृषिमा लगानी गरे पनि त्यसले उचित उत्पादन दिने देखिँदैन । अहिले हाहाकार भइरहेको युरिया मलको अभाव हो । यो अनिवार्य रुपले चाहिने नै देखिएको छ । धेरै भन्दा धेरै उत्पादन बढाउनका लागि व्यवस्थित युरिया मल अहिले जरुरी छ । सरदर पाँच लाख मेट्रिक टन रासायनिक मल चाहिन्छ ।
बिना मल केही हुँदैन र सरकारले कृषिमा निरन्तर लगानी गरिरहेको छ भने अब मल बनाउनका लागि लगानी किन नगर्ने ? हालका समयमा रासायनिक मल नेपालमै उत्पादन गर्नेबारे पनि चर्चा चलिरहेको छ ।
सबैभन्दा उत्तम मल प्राङ्गारिक मल हो । यो गोठे मल हो । गोठबाट आउने मल सबैभन्दा उत्तम हुन्छ । यो माटोमैत्री मल हो । यसले माटोलाई कहिल्यै हानि गर्दैन । यो मलमा गड्यौंलाहरु पनि अधिक मात्रामा रहने भएकाले यस्तो मलको प्रयोगले कृषिबाली त फस्टाउँछ नै माटोको संरक्षण पनि हुन्छ । साथै कृषि वातावरण पनि बढ्छ ।
प्राङ्गारिक मल बनाउनका लागि भने घरघरमा धेरै भन्दा धेरै गाईबस्तु पाल्नुपर्छ । भैँसीपालन गर्नुपर्छ । बाख्रापालन गर्नुपर्छ । यदि यस्तो हुनसक्यो भने गोठे मलबाट सबैभन्दा राम्रो मल उत्पादन हुन्छ । साथै ती गाईबस्तुबाट हुने आम्दानी पनि बढ्छ । यसले कृषिलाई थप मद्धत गर्छ ।
दोस्रोमा कम्पोष्ट मल उत्पादनतर्फ चासो गएको पाइँदैन । यो कम्पोष्ट मल पनि गोठे मलजस्तै महत्वपूर्ण प्राङ्गारिक मल हो । काठमाडौं उपत्यका लगायतका शहरहरुमा फोहर कहाँ लगेर फाल्ने भन्ने समस्या जहिल्यै हुन्छ । उस्तै परे सरकार नै पो उल्टिन्छ कि भनेजसरी समस्या सडकदेखि सदनसम्म पुगेको हुन्छ ।
तर कम्पोष्ट मल बनाएर फोहर कम गर्ने र मलको उत्पादन पनि बढाउने दीर्घकालीन सोचमा भने सरकार लागेको छैन । न त निजी क्षेत्रले नै यसलाई आफ्नो दायित्व सम्झेको छ ।
खेर जाने प्राङ्गारिक पदार्थहरु जस्तै– झारपात, स्याउला, भान्साको फोहरमैला, बालीको अवशेष आदिलाई आडल वा थुप्रोमा राखेर कुहाइ बनाइने मल कम्पोष्ट मल हो । जब यो पनि प्राङ्गारिक मलजस्तै उत्तम हो भने यसलाई घरघरमा किन नबनाउने ? सरकारले कृषिमा लगानी गरिरहेको छ भने घरघरमा गएर कम्पोष्ट मल बनाउने तरीका किन नसिकाउने ?
अर्कातर्फ जसरी जताततै रासायनिक मल नभए बरबाद हुन्छ भनेर नारा लगाइन्छ त्यसले माटोको उर्वराशक्ति सखाप पार्दैछ भनेर किन पढाइँदैन ? रासायनिक मलको प्रयोगले नै अहिले खेतबारीमा उत्पादन घट्दै गएको छ ।
त्यतिमात्र हैन गत वर्ष पाँच किलो मल हालेर उब्जाउ गरेको खेतीयोग्य जमीनमा यो वर्ष सात किलो र अर्को वर्ष १० किलो मल हाल्नुपर्ने हुन्छ । यसबारेमा कृषि विज्ञहरुले समेत राम्रोसँग किसानलाई बुझाउन सकिरहेका छैनन् । त्यसरी नै किसानलाई भ्रम छ कि – जति बढी रासायनिक मल राख्यो त्यति बढी उत्पादन हुन्छ । तसर्थ किसानलाई यो भ्रम बारेमा बुझाउनु जरुरी छ ।
तसर्थ अब रासायनिक मल घटाएर जतिसक्यो बढी प्राङ्गारिक मल बढाउन र कम्पोष्ट मल बनाउनतर्फ सरकारले लगानी गर्नुको विकल्प छैन । तत्कालको संकट टार्नका लागि सरकारले रासायनिक मल ल्याएर कृषकको समस्या टारोस् । तर आगामी दिनमा यसको प्रयोग कम गर्दै प्राङ्गारिक र कम्पोष्ट मल बनाउन लगानी बढाउन सरकार अगाडि बढोस् । पहिले आफूले पढोस् र त्यसपछि सबैलाई पढाउन सकोस् ।