arrow

बागलुङवासीले मागे शुद्ध पानी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३१ मंगलबार
baglung-bazar-ceotab.jpg

बागलुङ । एक महिनादेखि धमिलो पानी आएपछि बागलुङका उपभोक्ताले तत्काल शुद्ध पानी दिनुपर्ने माग गरेका छन् । उनीहरुले नगर खानेपानी सरसफाइ तथा उपभोक्ता समिति, बागलुङ नगरपालिका र प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षणसमेत गराएका छन् । उनीहरुले ती संस्थामा ज्ञापनपत्र बुझाउनाका साथै सयौँ उपभोक्ताको हस्ताक्षर पनि बुझाएका हुन् । 

अधिवक्ता बद्रीप्रसाद उपाध्याय, उपभोक्ता टेकबहादुर सार्की, डिल्लीप्रसाद गौतम लगायतको टोलीले सोमबार जिल्ला प्रशासनमा पनि ध्यानाकर्षण गरेका हुन् । प्रजिअ रमेश ढकाललाई शुद्ध पानी खुवाउन पहल गरिदिन पनि आग्रह उनीहरुले गरे । 

गत वर्ष पनि यस्तै समस्या हुँदा प्रशासनको पहलले शुद्ध पानी खुवाउन पहल भएको थियो । उच्च अदालत पोखरा, बागलुङ इजलासले पनि शुद्ध पानी खुवाउन उपभोक्ता समिति र नगरपालिकालाई आदेश दिएको थियो । प्रशासनलाई नियमित अनुगमन गरेर शुद्ध पानी आए नआएको प्रतिवेदन दिन भनेको थियो । तर अझै पनि सो सम्बन्धी काम नभएको अधिवक्ता उपाध्यायाले बताए । पीडित उपभोक्ताले धमिलो पानीको फोटोसहित प्रशासनमा उपस्थित भएका थिए । 

यस्तै, आम नागरिकमा पखाला र छालासम्बन्धी रोग देखिएर परीक्षण गर्दा प्रदूषित पानीको प्रयोगले भएको भन्दै उपभोक्ता संस्थाले आम नागरिकको स्वास्थ्यमा खेलबाड गरेको पनि उपभोक्ताले आरोप लगाए । “आम नागरिकको स्वास्थ्यमा आएको समस्याको जिम्मा लिने कि शुद्ध पानी खुवाउने ?” गौतमले भने, “खानेपानीमा चरम लापरबाही भएको छ ।” वर्षौंदेखिको यो समस्या समाधानमा संस्था गैरजिम्मेवार बनेको समेत उनीहरुले आरोप लगाए ।

नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको म्यादसमेत सकिएको छ । डेढ वर्ष म्याद सकिँदा पनि संस्थाले साधारणसभा गरेको छैन । बरु उपभोक्ताले पानीको समस्या र सास्तीबारे जानकारी गराउन खोज्दा धम्क्याउने काम भएको स्थानीयवासीले गुनासो गरे । 

“पानीको पाइपहरु गाडिएको छैन, कतै चुहिने स्थानमा अलपत्रै छाडिएको छ,” बानपा-४ स्थित गौरीधाम शिवमन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण केसीले भने, “यहाँका वडा नंं १, २, ३ र ४ का  मानिस पीडित भइरहे पनि संस्थाले जनताको जीवनमा खेलबाड गरेको छ ।” 

खानेपानी उपभोक्ता संस्थालाई बोलाएर गत वर्ष नगरपालिकाले पनि शुद्ध पानी खुवाउन दबाब दिएको थियो । प्रजिअ रमेश ढकालले तत्काल संस्थाका पदाधिकारीलाई झिकाएर छलफल गर्ने र निष्कर्ष निकाल्ने बताए । बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले पनि पानी शुद्ध खुवाउने विषयमा गम्भीर भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ