- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बागलुङ । निर्माण कम्पनीले समयमा काम नगर्दा (पुष्पलाल) मध्यपहाडी लोकमार्गको बागलुङ घोडाबाँधे खण्ड हरेक वर्षामा हिलाम्मे र हिउँदको समयमा धुलाम्मे हुने गरेको छ । बागलुङका अधिकांश स्थानीय तहको सदरमुकामसँग जोडिने मुख्य मार्ग लोकमार्गको काम समयमा नहुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् ।
ट्र्याक खोलेको २२ वर्ष बितिसक्दासमेत उक्त खण्डमा कालोपत्र हुन नसक्दा सडकको अवस्था बिजोग बन्दै गएको हो । २०५६ सालमा ट्र्याक खोलिएको सडक खण्डमा बाँकी जम्मा २५ किलोमिटर कालोपत्र गर्न पटक-पटक म्याद थप गरिए पनि समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीले गरेको हेलचर्क्याइँका कारण आफूहरुले सास्ती भोग्न बाध्य भएको स्थानीयवासी गुरुप्रसाद कँडेल बताउछन् ।
वर्षा सुरु भएसँगै ठाउँठाउँमा पहिरो जाने, खाल्डाखुल्डी भएका सडकमा पानीको पोखरी हुने हुँदा सवारी साधन चलाउन र पैदल यात्रा गर्न समस्या हुन थालेको स्थानीयवासीले गुनासो गरेका छन् ।हिउँदमा धूलो र बर्खामा हिलो खाँदा तनाव भएको उनीहरुको भनाइ थियो । निर्माण व्यवसायी कम्पनीले आर्थिक वर्ष सकिनै लाग्दा काम गरेजस्तो गर्ने तर काम नगर्ने कारणले यस्तो समस्या भोग्नु परेको स्थानीय कमला केसीले बताए ।
२०७७ साल मङ्सिर २१ गते तत्कालीन प्रजिअ सुरेश न्यौपानेले निर्माण व्यवसायी कम्पनीका प्रतिनिधिलाई ६ महिनाभित्र निर्माण गर्ने लिखित सम्झौता गराए पनि कम्पनीले सम्झौता कार्यान्वयनलाई बेवास्ता गरेका छन् । कालोपत्र गर्न बागलुङ-अक्षेते सडक खण्डका लागि भारत सिद्धिसाई जेभीले ठेक्का लिएको छ भने बिहुँ खण्ड एमपी एसिएफ इसिसी जेभीले ठेक्का लिएको छ । दुईवटा खण्ड गरी रु ७३ करोडमा ठेक्का सम्झौता भएको थियो । भारत सिद्धि साई जेभीका सुपरभाइजर गणेश सुवेदीले तोकिएको समयमा काम नसक्दा आफूहरुले जरिवाना तिरेको बताए ।
उनले कोभिड-१९ र स्थानीय तहको निर्वाचनका कारण समयमै काम हुन नसकेको बताए । बागलुङ-घोडाबाँधे खण्डमा काम नहुनुको मुख्य दोष निर्माण कम्पनीको रहेको मध्यपहाडी लोकमार्गको कार्यालय पर्वतका प्रमुख नारायणदत्त भण्डारीले बताए ।