arrow

दश पाँचको जागिर पुरानै शैलीमा, देउवा सरकार एक महिनामै पछि हट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १ बुधबार
pm-office-singha-durbar-ktm-2078.jpg

काठमाडौं । सरकारी कार्यालयहरू आज बुधबारदेखि बिहान १० बजेदेखि खुलेका छन् । सरकारले मंगलबार सूचना निकाली असार १ गतेदेखि कार्यालय समय बिहान १० बजेदखि साँझ ५ बजेसम्म तोकेको हो ।  

मन्त्रिपरिषद्को जेठ २३ गते बसेको बैठकले असार १ गतेबाट सरकारी कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म तोक्ने निर्णय गरेको थियो । साथै, उक्त बैठकले असार १ गतेदेखि हप्तामा २ दिन बिदा दिने निर्णय फिर्ता लिएको थियो । 

हप्तामा २ दिन बिदा दिने निर्णय एक महिना मात्र लागु भयो । हप्तामा २ दिन बिदा दिएर कार्यालय समय बिहान साढे ९ बजेदेखि साँझ साढे ५ बजेसम्म तोकिएको थियो । 

हप्तामा २ दिन बिदा दिने निर्णय फिर्ता लिएपछि कार्यालय समय पनि पहिलेकै अवस्थामा ल्याइएको हो ।  

गृहमन्त्रालयका प्रवक्ता फनिन्द्रमणि पोखरेलले असार १ देखि कात्तिक १५ गतेसम्म कार्यालय समय बिहान १० देखि साँझ ५ बजेसम्म र कात्तिक १६ देखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि साँझ ४ बजेसम्म हुनेछ भनी विज्ञप्तिमा भनेका छन् ।  

शेरबहादुर देउवा नेतृत्वको सरकारले परीक्षणकालको रुपमा हप्तामा २ दिन बिदा दिने निर्णय गरेको थियो । तर हप्तामा २ दिने बिदा दिने सरकारको निर्णयको सबैतिर विरोध भएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो । 

सरकारले इन्धन बचत गर्ने नाममा हप्ताको दुई दिन बिदा दिन लागेको जनाएको थियो । तर यो एक महिनामा इन्धन बचत भन्दा पनि बढी खर्च भएको अनुमान गरिएको छ । 

इन्धन बचाउन खोज्ने तर राहत कोटाको तेल वितरण नघटाएपछि सरकारी सवारी लिएका कर्मचारीले झन् मौकामा चौका हान्दै घुमफिरमा बिताएका थिए । 

यसअघि २०५६ सालमा पनि हप्तामा २ दिन बिदा दिने निर्णय गरिएको थियो । त्यसबेला पनि उक्त निर्णयको विरोध भएपछि तत्कालीन सरकारले आफ्नो निर्णय फिर्ता लिएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ