arrow

बढ्दो अमेरिका-चीन द्वन्द्वबीच आसियान राष्ट्र सम्बन्ध विस्तारमा

logo
एपी,
प्रकाशित २०७९ असार २ बिहिबार
asean--country.jpg

नयाँदिल्ली । दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान)का विदेशमन्त्रीहरूको विशेष बैठकले अमेरिका र चीनबीचको बढ्दो द्वन्द्वलाई दृष्टिगत गरी सदस्य राष्ट्रबीचको सम्बन्धलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिएको छ । 

 भारत र सिङ्गापुरको  सह-अध्यक्षतामा आज यहाँ शुरू भएको उक्त बैठकले युक्रेनमा जारी आक्रमणले यस क्षेत्रको शान्ति र स्थायित्वमा जोखिम थपेको तथा संयुक्त राज्य अमेरिका र चीनबीचको चर्को द्वन्द्वले पारस्परिक सम्बन्धलाई अझ सुदृढ गर्नुपर्नेमा जोड दिएको हो । 

भारतका विदेश मन्त्री एस जयशङ्करले भारत र दक्षिणपूर्वी एसियाली राष्ट्र युक्रेन युद्धको  भूराजनीतिक प्रभावको सामना गरिरहेका बताउँदै खाद्य र ऊर्जा सुरक्षाका साथै मलखाद एवम् दैनिक उपभोग्य वस्तुहरूको मूल्य अनपेक्षित रूपमा बढेको तथा आपूर्ति शृङ्खला भएको अवरोधले यस क्षेत्रमा  असर परेको बताए । भारतले बलियो, एकीकृत, समृद्ध आसियानलाई पूर्ण रूपमा समर्थन गर्ने बताए । 

सिङ्गापुरका विदेशमन्त्री भिभियन बालकृष्णनले युक्रेनमा रूसको कारबाहीबाट अन्तर्राष्ट्रिय नियम र मापदण्डहरूको उल्लङ्घन भएको टिप्पणी गरे । उनले अमेरिका र चीनबीचको द्वन्द्वले सम्पूर्ण एसियामा प्रत्यक्ष प्रभाव पारेको बताए । रूस-युक्रेन युद्ध र अमेरिका-चीन द्वन्द्व नियन्त्रण भएन भने क्षेत्रीय शान्ति र स्थायित्वको प्रणालीलाई जोखिममा पार्ने उनले बताए । 

दुईदिने उक्त बैठकमा  ब्रुनाइ, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड, म्यान्मा र भियतनामका विदेशमन्त्री सहभागी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ