arrow

के हो 'अग्निपथ स्किम' जसले भारतमा निम्त्याएको छ देशव्यापी आन्दोलन ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ६ सोमबार
agneepath-agnivir-indian-army.jpg

काठमाडौं । भारतले सरकारले गत मंगलबार घोषणा गरेको अग्निपथ योजनाले देशव्यापी विरोध प्रदर्शन सिर्जना गरेको छ। भारतीय सेनाको तीन वटा सेवामा सैनिक भर्तीका लागि भारत सरकारले आफ्नो नयाँ अग्निपथ योजना अनावरण गरेको हो । 

यो योजना तुरुन्तै लागू हुनेगरी मन्त्रिपरिषद्को सुरक्षा सम्बन्धी समितिले स्वीकृत गरेको छ। यसअन्तर्गत भर्ती गरिने सैनिकहरुलाई अग्निवीर भनिनेछ ।

तर यो योजनाको घोषणा गरेलगत्तै यसले कयौं युवाहरुलाई विरोध गर्न बाध्य बनाएको छ। लाखौं युवाहरुले याे योजनाविरुद्ध विरोध प्रदर्शन गर्दै सोमबार भारत बन्दको घोषणा गरेका छन् भने कयौं ठाउँमा रेल र अन्य सार्वजनिक सम्पत्तीमा आगजनी गरिएको छ।

के हो अग्निपथ योजना ?

अग्निपथ योजना अन्तर्गत वार्षिक करिब ४५,००० देखि ५०,००० सैनिक भर्ती हुनेछन् । उनीहरुको कार्यअवधि केवल चार वर्षको हुनेछ । केहीले मात्रै १५ वर्षको पूर्ण सेवा निरन्तरता पाउने छन् ।

यसरी भर्ती गरिने अग्निवीरहरुको दर्जा अफिसर स्तर भन्दा तल हुने छ। अग्निपथ योजना अन्तर्गत अग्निवीर हुनका लागि साढे १७ वर्षदेखि २१ वर्षकाले आवेदन दिन पाउने छन्। वर्षमा दुई पटक र्‍यालीमार्फत भर्ना गरिने छ।

भर्ती भएको ६ महिनासम्म उनीहरुलाई तालिम दिइने छ र त्यसपछि साढे तीन वर्षका लागि डिउटीमा खटाइनेछ ।

यस अवधिमा उनीहरूले सुरुको तलब ३०,००० रुपैयाँ र थप सुविधा पाउने छन् जुन चार वर्षे सेवाको अन्त्यसम्ममा  ४०,००० रुपैयाँसम्म पुग्नेछ।

महत्त्वपूर्ण कुरा यो अवधिमा सेवानिधि कार्यक्रम अन्तर्गत उनीहरूको तलबको ३० प्रतिशत काटिनेछ र सरकारले पनि त्यतिक्कै पैसा हाल्ने छ र ब्याज थपिनेछ। 

चार वर्षको अवधिको अन्त्यमा प्रत्येक सैनिकले एकमुष्ट रुपमा रकम ११ लाख ७१ हजार रुपैयाँ प्राप्त गर्नेछन् यो पैसा करमुक्त हुनेछ।

उनीहरूले चार वर्षको अवधिमा ४८ लाख रुपैयाँ बराबरको जीवन बीमा पाउनेछन्। मृत्यु भएको अवस्थामा भुक्तानी सेवा नगरिएको कार्यकालको तलब सहित १ करोड रुपैयाँ भन्दा बढी उपलब्ध गराइने छ ।

चार वर्षपछि ब्याचको २५ प्रतिशत मात्रै १५ वर्षको अवधिमा आ–आफ्नो सेवामा पुनः भर्ना हुनेछन् । यसरी फेरि छनोट भएकाहरूका लागि शुरुको चार वर्षको अवधिलाई अवकाश पाउने अवधिका रुपमा जोडिने छैन ।

यस योजना अन्तर्गत ९० दिन भित्र भर्ती श्रु हुनेछ र यसले  अखिल भारतीय, सबै वर्गलाई भर्तीको अवसर दिनेछ।

भारतीय सेनालाई के फाइदा ?

हाल भारतीय सेनाको औसत उमेर ३२ वर्ष रहेको छ। यो योजना लागु भएसँगै ६ देखि ७ वर्षसम्ममा सेनाको औसत उमेर २६ वर्षमा पुग्ने अनुमान गरिएको छ।

सैन्य मामिला विभागका अतिरिक्त सचिव लेफ्टिनेन्ट जनरल अनिल पुरीले यो योजनाले  'भविष्यका लागि तयार' सैनिकहरू सिर्जना गर्नेसमेत बताएका छन्।

यसबाहेक अग्निवीरहरुले विभिन्न क्षेत्रमा काम पाउन सक्ने र यसले देशको समग्र जीडीपीमा योगदान पुर्याउने विश्वास समेत गरिएको छ।

विरोध किन भइरहेको छ?

लाखौं युवाहरुले यो योजनामा रोजगारी दिगो नभएको र पुरानै तरिकाले सैन्य भर्नाका लागि मेहनत गरिरहेका युवाहरुमाथि अन्याय भएको भन्दै विरोध प्रदर्शन गरेका छन्।

चार वर्षका लागि अग्निवीर बनेर त्यसपछि १५ वर्षका लागि भर्ती हुन नपाउँदा ४ वर्षका लागि कसैले सेनामा भर्ती हुन नचाहने युवाहरुको भनाइ छ। 

अग्निवीर बनेपछि ४ वर्षको समयावधिपछि अन्य कुनै शिक्षा लिनसमेत ढिलाई भइसक्ने र धेरै रोजगारीको अवसरसमेत नहुने हुँदा युवाहरुले आक्रोश व्यक्त गरेका छन् ।

कयौं रेल र अन्य सार्वजनिक सम्पत्ति एवं नेताहरुको घरमा आगजनी तथा आगजनीको प्रयास गरिएको छ।

सोमबार कयौं युवा र संगठनहरुले बन्द घोषणा गर्दै प्रदर्शनलाई थप आक्रामक बनाएका छन् । भारतका १० भन्दा बढी राज्यमा विरोध प्रदर्शन भएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ ।

भारतीय कांग्रेसलेसमेत यो योजना युवाविरोधी भएको भन्दै आलोचना गरेको छ । यसबीच भारतीय सेनाले जुलाईबाट सेनाको वेबसाइटबाट अग्निपथमा भर्तीका लागि अनलाइन दर्ता अनिवार्य गरेको जनाएको छ।



नयाँ