arrow

तरुणहरुले देशको शिर उच्च हुने गरी काम गर्नुपर्छ : आरजू राणा देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ६ सोमबार
Aarju.jpg

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजू राणा देउवाले तरुणहरुले देशको शिर उच्च हुने गरी काम गर्नुपर्नेमा जोड दिएकी छिन् । नेपाल तरुण दल कास्कीले सोमबार पोखरामा आयोजना गरेको विपद् व्यवस्थापन, नागरिक सेवामा तरुण दलको भूमिका एवं जनप्रतिनिधिलाई बधाई कार्यक्रममा उनले यस्तो बताएकी हुन् । 

नेतृ देउवाले तरुणले नै नयाँ सोच र नयाँ विचार लिएर हिंड्न सक्ने भएकाले तरुणले अब राजनीतिमात्र होइन, देश निर्माणमा पनि सोच्न आवश्यक रहेको बताइन् । उनले भनिन्, ‘प्रत्येक सवालमा युवा र तरुणका विषय जोडिएर आउँछ । राष्ट्र निर्माणको कामका लागि तरुण अघि सर्नुपर्छ । जे गर्न सक्छ, तरुणले नै सक्छ ।’ साथै उनले तरुणहरुलाई जनताका हरेक सवालमा जोडिन आग्रह गर्दै जनताको मन र मत दुवै जित्न आग्रह गरिन् । 

नेपाली कांग्रेस विना मुलुक चल्न नसक्ने ठोकुवा गर्दै नेतृ राणाले केपी शर्मा ओलीले डुबाउन लागेको देशलाई कांग्रेसले नै बचाएको दावी गरिन् । उनले निर्वाचन नजिकिदै गएको उल्लेख गर्दै निर्वाचन केन्द्रित कार्यक्रम अघि बढाउन र तयार भएर बस्न आग्रह गरिन् ।

नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले तरुण दलले अब नयाँ नयाँ र रचनात्मक काम गर्ने बताए । उनले तरुणले राष्ट्रका लागि धेरै काम गरेको उल्लेख गर्दै अबका दिनमा पनि लोकप्रिय काम गर्ने उल्लेख गरे ।

उनले भने, ‘तरुण दलका कार्यकर्ता प्रत्येक कृषक र प्रत्येक मजदूरसँग जोडिएर उनीहरुको सेवा गर्नेछन् । काम पनि सिक्नेछन् ।’ उनले तरुण दलको राष्ट्रिय महाधिवेशन संघीय र प्रदेशसभाको निर्वाचन पछि हुने संकेत गरे । 

तरुण दलका कास्कीका अध्यक्ष मनोज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री यज्ञबहादुर थापा, कास्की कांग्रेसका सभापति किशोरदत्त बराल, तरुण दलका केन्द्रीय सदस्य मेखलाल श्रेष्ठ, सचिव नगेन्द्र थापा लगायतले बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ