arrow

आगामी निर्वाचनमै विदेशमा रहेका नेपालीले मताधिकार पाउन् – कांग्रेस महामन्त्रीद्धय थापा–शर्मा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ७ मंगलबार
gagan-thapa-bishwaprakash-sharma.jpg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विदेशमा रहेका नेपालीलाई समानुपातिक प्रणालीमा मतदानको अधिकार दिन निर्वाचन आयोगले इच्छाशक्ति देखाउनुपर्ने बताएका छन् । 

मंगलबार निर्वाचन आयोगमा पुगेर कांग्रेस महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपालीलाई पनि मतदानको अधिकार दिन ज्ञापनपत्र बुझाएका छन् । आयोगलाई पत्र बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा महामन्त्रीद्वय थापा र शर्माले सर्वोच्च अदालतले सरकारका नाममा परमादेश नै जारी गरिसकेकाले यसपटकको निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिलाउनुपर्ने बताए । 

‘निर्वाचन नै नहुने कतिपय देशमा नेपालीलाई मतदानको अधिकार दिन त्यहाँको कानूनले अप्ठेरो पार्ला, तर जुन जुन देशबाट सम्भव छ त्यहाँ अहिले नै शुरुआत गर्नुपर्छ,’ थापाले भने, ‘यस विषयमा सर्वोच्च अदालतले परमादेश नै दिइसकेको छ । राजनीतिक दलहरूबीच पनि पटक पटक छलफल भएको छ । कांग्रेसले पनि यो विषयलाई पहिलेदेखि नै उठाएको छ ।’

उनले अझै पनि चार–पाँच महिनाको समय बाँकी रहेकाले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिन सकिने उल्लेख गरे । निर्वाचन आयोगले काम शुरु गरेलगत्तै सरकारले यसमा सक्दो सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

कांग्रेसका अर्का महामन्त्री शर्माले हरेक विषय कांग्रेसकै अगुवाइ र नेतृत्वमा हुने गरेको जिकिर गर्दै यो विषय मौलिक हकअधिकार पनि भएको बताए । 

थापा र शर्माले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिन ध्यानाकर्षण गराएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ