- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कराँची। पाकिस्तानका विद्यार्थीहरूले स्थानीय रूपमा उत्पादित कागजको मूल्य निर्धारण नगरे आगामी शैक्षिक सत्रमा पाठ्यपुस्तकहरूको तीव्र अभावको सामना गर्न सक्ने पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन्।
कागजको मूल्य निर्धारणको समस्याले गर्दा स्थानीय बजारमा पाठ्यपुस्तकहरू उपलब्ध हुन नसक्ने स्थिति आउने द न्यूज इन्टरनेशनलले रिपोर्ट गरेको छ। पाकिस्तानको प्रकाशक तथा पुस्तक बिक्रेता सङ्घका अध्यक्ष अजिज खालिद, जो पाकिस्तान एसोसिएसन अफ प्रिन्टिङ एण्ड ग्राफिक आर्ट्स इन्डस्ट्रीका अध्यक्ष पनि छन्, र अल पाकिस्तान पेपर मर्चेन्ट्स एसोसिएसनका पूर्व अध्यक्ष मुहम्मद सलीम विकियाले एक पत्रकार सम्मेलनमा देशमा पाठ्यपुस्तकको अवस्थाबारे जानकारी दिएका छन्।
कागजको मूल्य स्थिर नभए देशभरका पुस्तक बिक्रेताहरूले यस वर्ष लाखौँ विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन नसक्ने उनले बताएका हुन्। स्थानीय कागज उत्पादकहरूले कागजको मूल्य लगातार बढाउँदै गएको उनीहरूको भनाइ छ।
हाल स्वदेशी कागजको मूल्य २०० प्रतिशतभन्दा बढीले बढेको र गुणस्तर पनि विदेशी कागजको तुलनामा न्यून रहेको उनीहरूलाई उद्धृत गर्दै द न्यूज इन्टरनेशनलले जनाएको छ। ‘जनवरीदेखि स्थानीय कागजमा प्रतिकिलो १ सय रुपैयाँ बढेको छ,’ खालिदले भने। अहिलेको अवस्थाले मुद्रण र प्याकेजिङ उद्योग धराशायी बन्दै गएको उनको भनाइ छ।
'हरेक हप्ता स्थानीय कागजको मूल्यमा प्रतिकिलो ५ रुपैयाँदेखि ८ रुपैयाँसम्मको वृद्धि भइरहेको छ। तर यस विषयमा सरकारले ठोस कदम चालेको छैन,’ उनले भने। प्रत्येक वर्ष भदौ १ गतेदेखि पुस्तक बिक्रेता र प्रकाशकले पाठ्यपुस्तक बजारमा ल्याउन थाले पनि यस वर्ष कागजको मूल्य स्थिर नभएकाले छपाई तथा प्रकाशनमा ढिलाइ भएको उनले बताए। उनले भने, ‘पाठ्यपुस्तक नहुँदा मध्यम वर्गका विद्यार्थीहरू शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था रहन्छ।'
उनले अभिभावकलाई किताब किन्न ठुलो रकम तिर्न बाध्य हुने चेतावनी समेत दिए। सरकारले चर्को कर लगाएकाले पनि प्रकाशकले आयातित कागजको अभाव भोग्नुपरेको उनले बताए।